महानगरपालिकाले बालबालिकालाई न्यानो कपडा वितरण

Ad
  • कालोपाटी सम्बाददाता

भरतपुर । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो ।

बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालयमार्फत विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हो । महानगर प्रमुख रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बञ्चित हुन नपरोस् भनेर तीन वर्षदेखि उक्त कार्यक्रम अघि बढाइएको बताए ।

राप्ती र नारायणी नदी किनारमा रहेका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको र यसले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उनको भनाइ छ । सङ्घीय सरकारको दिवाखाजा कार्यक्रम र महागरले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न बालबालिकालाई सजिलो भएको दाहालको भनाइ छ । पाँच वर्षमा सामुदायिक विद्यालयमा १० हजार नयाँ विद्यार्थी सङ्ख्या थप्ने महानगरको लक्ष्य छ । हालसम्म ६ हजार नयाँ विद्यार्थी थपिएका छन् । शिक्षामा बजेट अभाव हुन नदिएको र ऐन–नियम बनाएर सामुदायिक शिक्षा सुधारमा काम गरिरहेको दाहालले बताए ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले रु १२ लाख बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी न्यानो कपडा वितरण गरिएको जनाकारी दिए । महानगरका १० आधारभूत विद्यालय छनोट गरी त्यहाँ अध्ययनरत एक हजार २२० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयुक्तरूपमा न्यानो कपडा हस्तान्तरण गरिएको छ । विद्यालयले महानगरमा पेश गरेको तथ्याङ्क र नामका आधारमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिनेछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्