मधेश प्रदेशले आज बलिदानी दिवस मनाइँदै

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुर । मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ ।

मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो ।

मधेस प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसर पारेर सप्तरी सदरमुकाम राजविराजमा विशेष कार्यक्रम गर्न लागेको छ । मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेश सरकार मन्त्री, प्रदेशसभा सदस्य र विभिन्न राजनीतिक दलका शीर्ष नेताको विशेष उपस्थितिमा दिउँसो आयोजना हुने कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम छ ।

यस्तै मधेश आन्दोलनका क्रममा घाइते र आपाङ्गता भएकालाई समेत आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले बताउनुभयो । सो कार्यक्रममा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेतालेसमेत सम्बोधन गर्ने कार्यक्रम छ ।

मधेश बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो मङ्गलबार पनि सार्वजनिक बिदा दिएको प्रदेश सरकारले आज बुधबार पनि मधेश बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्