‘सरकारले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने’ : अधिवक्ता केसी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन्

रिपोटर्स क्लव नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा केसीले संविधानले स्थानीय जनप्रतिनिधिहरुको पदावधिक पाँच वर्षको भनेर तोकेकोले सरकारले विलम्ब नगरी स्थानीय तहको निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने बताएका हुन् । स्थानीय तहपछि नै अन्य तहको निर्वाचन गर्नुपर्ने उनको भनाई छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले पदावधि सकिनुभन्दा २ महिना अगावै त्यो निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरिएको उनले बताए । उनले एक दिनपनि स्थानीय तहको सरकार खाली राख्ननहुने तर्क गरे । २०७९ निर्वाचनको वर्ष भएकोले सरकारले प्रक्रियागत रुपमा निर्वाचन गरेर जानुपर्ने पनि उनको सुझाव छ ।

साक्षात्कारमा पूर्व महान्यायधिवक्ता मुक्ति प्रधानले तीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिने बताए । तीनै तहको निर्वाचन एकैपटक गर्दा मुलुक र जनतालाई फाईदा हुन्छ कि हुँदैन् त्यसतर्फपनि सोच्नुपर्ने उनले बताए । संविधानको धारा ८५ ले संघीय संसदको कार्यकाल ५ वर्ष हुने भनेर व्यवस्था गरेको र संविधानको धारा १७७ ले प्रदेशको पनि ५ वर्ष नै तोकेको उनको भनाई छ । सरकारलाई निर्वाचनको मिति तोक्ने अधिकार भएको उल्लेख गर्दै देशको हितको कोणबाट छलफल गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै पूर्व महान्यायाधिवक्ता रमेश बडालले बैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने र पर धकेल्ने कुरालाई नेपालमा अस्थिरताको सिर्जना गर्नको लागि गरिएको खेतीको संज्ञा दिए । स्थानीय तहको निर्वाचन यो मितिमा नगरेर अरु कुनै मितिमा सार्नुपर्छ भनेर भन्नुको अर्थ स्थानीय तहलाई भ्याकुमा राख्नु भएको उनको टिप्पणी छ ।

उनले स्थानीय तह निर्वाचनसम्बन्धी कानूनले स्थानीय तहको निर्वाचन भएपछि मतगणना स्थानीय तहमा नै गर्ने व्यवस्था मिलाएको उल्लेख गरे । स्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा गर्नु भनेको असंवैधानिक र गैरकानूनी कुरा भएको उनको आरोप छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्