माओवादी पदाधिकारीको निर्वाचन माघ २७ मा गर्ने निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रको यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ मा गर्ने निर्णय भएको छ । उक्त २७ गते बस्ने बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो ।

पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण स्थगित भएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने जनाएका हुन् ।

अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा सोही मितिमा बस्ने बैठकले केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरो र स्थायी समितिको गठनका साथै पदाधिकारीको निर्वाचन गर्ने उल्लेख छ । प्रचण्डको परिपत्रमा सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभिाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने उल्लेख छ ।

साथै केन्द्रीय समितिको उक्त बैठकबाट अर्को निर्णय नभएसम्मका लागि यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरुको इन्चार्जहरुलाई नै यथावत जिम्मेवारी दिने माओवादीको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा प्रदेश समितिहरुले प्रदेश समिति र पदाधिकारी निर्वाचनलाई पूर्णता दिने कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रचण्डले आगामी बर्ष २०७९ निर्वाचन वर्ष हुने भन्दै त्यसका निम्ति पार्टी पंक्तिलाई आवश्यक अध्ययन विश्लेषण र योजना निर्माणको कार्यका पहल सुरु गर्न पनि निर्देशन दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्