सहिदहरुको सम्झनामा शुक्रबारदेखि सहिद सप्ताह शुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ज्ञात अज्ञात सहिदहरुको सम्झनामा शुक्रबारदेखि सहिद सप्ताह शुरु भएको छ ।

देशमा बिभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा ज्यान बलिदान दिनेहरुको सम्झनामा प्रत्येक बर्ष माघ १० देखि १६ गतेसम्म बिभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाउने गरिन्छ । सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन् । शुक्रराजको जन्म विसं १९५० मा बनारसमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा सुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए ।

त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसक्नु भएको थियो । त्यसपछि नेपाल फर्कनुभएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले विसं १९९४ मा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो । धार्मिक गतिविधिबाट जहानियाँ शासन विरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा विसं १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेका थिए । राणाको विरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो ।

विसं १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।

यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्