बेगखोलामा मोटर चल्ने पुल निर्माण सुरु

Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआई-हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको थियो ।

विभागको पश्चिम सेक्टर कार्यालयका इञ्जिनीयर आशिक रिजालले ठेकेदारले निर्माण सामग्री जुटाएर पुल निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु गरेको जानकारी दिए । “११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड ९निर्माण व्यवसायीले आफै डिजाइन र निर्माण गर्ने० मोडलमा ठेक्का सम्झौता भएको हो,” उनले भने “विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”

विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि बगाएको बेलिब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो ।

पक्की पुलसँगै गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले पनि बेगखोलामा ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । गत कात्तिक तेस्रो हप्ता करसहित रु २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए ।

बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण भएपछि बर्खायाममा बेनी–जोमसोम यात्रा गर्दा जोखिम, सास्ती र झञ्जट हट्ने अपेक्षा गरिएको छ । पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडक अन्तर्गत महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माण गरेको छ । विसं २०७४ फागुनमा रु १९ करोडमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले महभिरमा बनाएको ८० मिटर लामो ११ मिटर फराकिलो पुल सञ्चालनमा आइसकेको छ । पोखरेबगरमा बनाएको ७० मिटर लामो पुल जोड्ने पहुँच मार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन् । १८६ किलोमिटर दूरिको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत थप एक वटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्