पाँच कर्मचारीमा कोरोना पुष्टीभएपछि नगरपालिकाको सेवा बन्द

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन् । नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् । एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिँदा नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको थियो ।

बैतडी जिल्ला अदालतले पनि कर्मचारीमा कोरोना देखिएपछि यही माघ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

यसैबीच जिल्ला अस्पताल बैतडीमा तत्कालका लागि दन्त सेवा बन्द गरिएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना जारी नभएसम्मका लागि दन्त सेवा बन्द भएको अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । भारतसँग सीमा जोडिएको जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १९ जनाको मृत्यु भइसकेको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्