माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख सङ्गीता गहतराजले जानकारी दिए ।

उनले भने , “बर्थिङ सेन्टर स्थापना भई सेवा प्रवाह थालेसँगै अहिले गर्भवतीहरु नियमित स्वास्थ्य चौकीमा आउने क्रम बढेको छ ।” घरघरमै वा वालिङ, पोखरा लगायतका अस्पतालमा गएर सुत्केरी हुने गरेकामा अहिले भने गर्भवती भएदेखि नै नियमित स्वास्थ्यकर्मीको परामर्शअनुसार स्वास्थ्य परीक्षणमा आउने गरेका उनले जानकारी दिए ।

“गर्भवती भएदेखि नै उहाँहरुको तथ्याङ्क राखेर नियमित निगरानी र आवश्यक परामर्श गरिरहेका हुन्छौँ,” उनले भने , “बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुत्केरी हुन स्वास्थ्य संस्थामा आएका महिलाहरुलाई अहिलेसम्म फर्काउनुपरेको छैन ।” बजारदेखि अलिक टाढा र यातायातका दृष्टिले भनेको समयमा सवारी साधनहरु नपाइने समस्याले गर्भवतीलाई बोकेर वालिङ लैजानुपर्ने अवस्था थियो अहिले भने त्यो समस्या समाधान भएको वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।

“पहिला बाटोघाटोको पनि असुविधा थियो, समयमा गाडी पाइँदैनथ्यो, लैजाँदालैजाँदै बाटोमै सुत्केरी हुने अवस्था थियो,” उनले भने , “स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनासँगै तालिमप्राप्त नर्सले यहीँ नै सेवा दिन्छन् यसले गर्दा यहाँका स्थानीयवासीलाई सहज भएको छ ।”

गत वर्षदेखि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा थप गरेसँगै घरमै सुत्केरी हुने वा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष गुरुङ बताए  । विकट र ग्रामीण भेग भएकाले स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ भन्ने लागेर माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा थप गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिए ।

“बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको व्यवस्था गरेका छौँ,” उनले , “अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालिम दिएका छौँ जसका कारण सेवा प्रभावकारी भएको छ भने स्थानीयवासीलाई सहज पनि भएको छ ।”

माझकोट स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरका लागि स्याङ्जा परिवार दक्षिणकोरिया किम्हे बुसान शाखाले स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको शाखाका निवर्तमान अध्यक्ष जीवलाल काफ्लेले जानकारी दिए । ग्रामीण भेगमा सहज र संस्थागतरुपमा सुत्केरी गराउनका लागि आवश्यक उपकरणहरु शाखाले स्वास्थ्यचौकीलाई उपलब्ध गराएको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्