मुग्लिङ पोखरा सडक विस्तार संगै तनहुँ खण्डमा धमाधम रुख कटान

Ad
  • कालोपाटी सम्बाददाता

दमौली । मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो ।

मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । “पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करिब ५० प्रतिशत रुख काटिसकिएको छ,” उनले भने , “रुख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडी बढाउँछौ ।” उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडी बढाइरहेको छ ।

जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार एक ६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार आठ सय रुख कटान गरिएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भएको थियो । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गरिने बताइएको छ ।

सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क एडीबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१।४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको छ । मुग्लिन पोखरा सडक योजना पश्चिम जामुने–पोखरा खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । ३१ मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको छ । अन्य २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्का अन्तर्गत नै निर्माण हुनेछ ।-  रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्