जग्गाको लागि ९० वर्षीया आफ्नै आमाको हत्या

Ad
  • कालोपाटी सम्बाददाता

पथरी । आमाको नाममा रहेको जग्गा हत्याउन मोरङमा छोराले ९० वर्षीया आफ्नै आमाको हत्या गरेको छ ।

पथरी शनिश्चरे नगरपालिका–२ जयचौकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको नाममा रहेको जग्गा हत्याउन आफ्नी ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेर सटुक्क जंगलमा लगेर जलाएको खुलेको हो । मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार उनका तीन छोरा थिए ।

तिन छोराहरु मध्ये कान्छा छोरासँग बस्दै आएकी आमा जगमाया १२ माघदेखी अचानक हराएकी थिइन् । परिवारले सुरुमा कोही आफन्तकोमा गएको ठानेपनि धेरै दिन नआउदा गाउँभरि हुलिया गरेर खोजी गर्न थालेका थिए । वृद्धा हराएको केही दिनपछि गाउँलेहरुले गाउँसँगै रहेको जंगलको चिहानघारीमा मान्छे चलाएको आलो नलीखुट्टासहितको हाडहरु देखेपछि घरबाट हराएकी वृद्धा जगमाया नै हुनुपर्छ भन्ने शंका गरेर गाउँलेहरुले प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले हत्यापछी वृद्धालाई जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गर्दा उनकै छोराले हत्या गरको पृष्टि भएको थियो । प्रहरीका अनुसार १७ माघमा पक्राउ परेका छोरा कमलले आफ्नै आमाको हत्या गरेको स्विकार गरिसकेका छन् । पक्राउ परेका श्रेष्ठले प्रहरीलाई बताए अनुसार बुबाको नाममा रहेको १५ कठ्ठा ९ धुर जग्गा आमा र दुई जना दाजुहरुलाई थाहा नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए ।

सोही विषयमा श्रेष्ठ परिवारमा झैझगडा भइरहने गर्दथ्यो । सुटुक्क आमाको नाममा रहेको जग्गा भाइले एकलौटी आफ्नो नाममा हडपेको थाहा पाएपछि आमा र दाजुहरुले अदालतमा अंश मुद्दा पनि दर्ता गराएका थिए । अदालतले उक्त जग्गामध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । सोही रिसको आवेगमा कान्छा छोरा कमलले वृद्ध आमाको हत्या गरेर सुटुक्क चिहानघारीमा लगेर जलाएका थिए ।

वृद्ध आमाको हत्या आरोपमा प्रहरीले छोरा कमललाई १७ माघमा पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अदालतमा म्याद थप गराइसकेको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्