गन्धर्वको मानवअधिकार समूहको पहलमा घरेलु हिंसामा परेकी ७३ वर्षीया वृद्धाको उद्धार

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । घरेलु हिंसामा पर्नुभएकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ । छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको पहलमा वृद्धाको उद्धार गरी उपचार थालिएको हो । गैह्रेले नै ती वृद्धालाई उद्धार गरी बुधबार स्वास्थ्यचौकी पुयाएका छन् ।

गैह्रेसहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरीसमेत दिएका छन् । प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई पक्राउ गरी दैनिकी हाजिरीमा रिहा गरेको छ । पीडितको टाउको, ढाँड र खुट्टामा चोट लागेको छ । भानु आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घाइतेको उपचार गरेका छन् । आमालाई निर्घात कुटपिट गर्ने विक्रमलाई कारवाहीको माग गर्दै वडा नं १ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेलगायतले इलाका प्रहरी कार्यालय नारेश्वरटारमा उजुरी दिएका छन् । प्रहरीले भने विक्रम छारे रोगी भएको भन्दै दैनिक तारेखमा आउने गरी रिहा गरेको छ । इलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रकाश भुसालले छारे रोगी भएका कारण हिरासतमा राख्न समस्या भएकाले दैनिक तारेखमा राखिएको बताए ।

यसैबीच घाइते वृद्धाको थप उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तर्फबाट रु पाँच हजार उपलब्ध गराइएको छ । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर घाइते वृद्धालाई उक्त रकम उपलब्ध गराउनुभएको हो । सो अवसरमा इन्सेक प्रतिनिधि भट्टराईले घाइतेको अवस्थाका बारेमा जानकारी लिई अभियुक्तलाई कानूनी कारवाहीका बारेमा इलाका प्रहरी कार्यालय भानुका प्रमुख भुसालसँग जानकारीसमेत लिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्