मकर मेला स्नानको समय अन्तिमतिर आइपुग्दा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

बनेपा । माघ १५ यतादेखि धार्मिक आस्थाको केन्द्र पनौती त्रिवेणीघाटस्थित बाह्र वर्षमा लाग्ने ऐतिहासिक बाह्रवर्षे मकर मेलामा स्नान गर्नेको घुइँचो बढ्न थालेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ र ७ को सङ्गमस्थल पनौती त्रिवेणीघाट क्षेत्रमा सञ्चालन भइरहेको मकर स्नानको समय तीन दिनमात्रै बाँकी रहँदा मकर स्नान गर्न आउने दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । सो क्षेत्रमा बाह्रवर्षे मकर स्नान अवधिभर दिवङ्गत आत्माको सम्झनामा श्राद्ध गर्नले आत्मा शान्ति मिल्ने जनविश्वासका साथ त्रिवेणी घाटको पूर्वपट्टि रहेको रोशीखोला किनारमा श्रद्धालुहरूको उत्तिकै भीड रहेको छ । करिब एक हप्तादेखि बढ्दै गएको घुइँचोका कारण पनौतीस्थित त्रिवेणीघाट क्षेत्र र गोरखनाथडाँडामा मानिसको चहलपहल निकै बढेको छ । कोरोना जोखिमका कारण सुरु सुरुमा न्यून सहभागिता रहेको मकर स्नानमा माघ १५ यता दैनिक हजारौँ भक्तजन पनौती आउने गरेका मकर मेला मूल आयोजक समितिले जनाएको छ ।

पनौती नगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले पछिल्लो समयमा भक्तजनको सहभागितामा उल्लेख्य वृद्धि हुँदै गएको बताए । कोरोना सङ्क्रमणदर घट्दै गएको कारण पनि भक्तजनको सहभागितामा वृद्धि हुँदै गएको बताउँदै उनले स्नानका लागि आवश्यक व्यवस्थापनमा आयोजकले देखाएको सक्रियताका कारण पनि दर्शनार्थीले सहज महसुस गरेर स्नान गर्न पाएको बताए । “केही दिन अगाडि पानी परेर खोलामा बाढी आएको कारण स्नान कुण्ड धमिलो भएर समस्या देखिए पनि त्यसलाई अहिले पूर्णरूपमा सफा गरेर स्नान गर्न सहज बनाइसकेका छौँ ।” उनले भने , “बाह्र वर्षमा लाग्ने मकर मेलाको स्नान गर्ने समय केही मात्रै बाँकी रहेकाले त्रिवेणीघाटमा आएर स्नान गरी पुण्य कमाउन हामी सम्पूर्ण भक्तजनमा आग्रह गर्दछौँ ।”

त्यस्तै वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले सुरुको दिनमा भन्दा १५ गतेयता दर्शनार्थीको सहभागिता अत्यधिक बढेसँगै स्वयंसेवक, प्रहरीको मात्रा बढाएको र सकेसम्म स्वास्थ्य मापदण्ड पालना गरी स्नानको व्यवस्था मिलाइएको बताए । मेलामा भक्तजनको चाप बढ्दै गएपछि सुरक्षा सतर्कता पनि बढाइएको छ । नेपाल प्रहरी सशस्त्र, नगरपालिकाले स्वयंसेवकहरु पनि ठूलो मात्रामा खटाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार मेलामा आउने भक्तजनलाई स्वास्थ्य मापदण्ड पालना गरी स्नान गर्न र सहभागी दर्शनार्थीहरुलाई आफ्नो सामानको सुरक्षामा ध्यान दिन माइकिङलगायतका काम गरिरहेको बताए ।

आयोजकका अनुसार बिदाको दिनमा एक लाख बढी भक्तजन आउने गरेका छन् । मेलाका लागि पनौती जानेको संख्या वृद्धि भएसँगै सो बनेपा–पनौती सडकखण्डमा सवारीसाधनको चाप बढ्दै गएको छ । मेला आगामी माघ २९ गतेसम्म चल्नेछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्