उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गर्दा खानेपानीमा अभाव

Ad
  • कालोपाटी सम्बाददाता

मान्म । कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो । खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिए । “खानेपानीको उचित वितरण नहुँदा खानेपानीको बजारमा अभाव रहेको छ”, उनले भने । खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर खानेपानीको जोहो गर्नुपरेको नेपालीले बताए । “ धारामा नियमित पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको अभाव भएको छ”, उनले भने

खानेपानी वितरणमा केही समस्या आएको र यसको चाँडै समस्या समाधान गरिने मान्म खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए । “विगत केही दिनदेखि वितरण प्रणालीमा समस्या आउँदा खानेपानीको अभाव भएको छ”, उनले भने , “खानेपानी नियमित बनाउन यसका निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गरिनेछ ।” टाढाबाट खानेपानी सदमुकाममा ल्याइएको र पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव रहने गरेको उपभोक्ता समितिका अध्यक्ष शाहीले जानकारी दिए । “हामी टाढाबाट खानेपानी ल्याएर सदरमुकाममा रहेको ट्याङकीमा खसालेर खानेपानीको वितरण गर्ने गरेका छौँ”, उनले भने “कहिलेकाहीँ टाढाबाट ल्याइएका पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव हुने गरेको छ ।”

त्यस्तै, नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल कालीकोटले सदरमुकामा भएको खानेपानी अभावलाई तत्काल समाधान गर्न आग्रह गरेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्