पहिलो पटक ३५ हजार शब्द व्युत्पादित भएको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरेका छन् ।

कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन् । अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन । यसमा प्रयोग भएका संस्कृतका शब्दहरु संस्कृत वाङ्मयमा बढी प्रचलित छन् । केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन् । तिनलाई देवनागरिक लिपिको परम्पारगत वार्णिक प्रणालीका क्रममा अथ्र्याइएको छ । शब्दहरुको प्रयोगस्थल निर्देश हेर्दा अधिकांश सूक्तिमय काव्यबाट लिइएको छ । यो शब्दकोश विद्यार्थी, प्राध्यापकका लागि मात्र नभई अन्वेषक, अनुसन्धाताका लागि अन्वेषणको माध्यम बनेको साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले जानकारी दिए ।

पूर्वसचिव एवं संस्कृत वाङ्मयका ज्ञाता कृष्ण ज्ञवालीले तत्सम शब्दहरुको निर्माण प्रक्रियाबारे शब्दकोशमा विस्तृत उल्लेख गरिएको बताए । यो कोष भाषाको क्षेत्रमा चासो राख्ने अध्येता, अनुसन्धाता र सरकारी कार्यालयहरुमा शुद्ध नेपाली शब्द राख्न रुचाउनेहरुका लागि अत्यन्तै उपयोगी भएको टिप्पणी गरे । पूर्वसचिव ज्ञवालीले नेपाली भाषाबाहेक पनि किराँती, लिम्बू, मगर, गुरुङ, तामाङ भाषाहरुमा संस्कृत शब्दहरु प्रयोगमा ल्याइएकाले ती शब्दहरुलाई समेत समावेश गरी आगामी संस्करणमा प्रकाशन गर्न सुझाव दिए ।

प्राध्यापक ढुङ्गानाले झन्डै १० वर्ष लगाएर तयार पारेको कोशमा सांस्कृतिक पक्ष, तीर्थस्थल, देवस्थल, वेदवेदाङ्ग, उपनिषद्, रामायण, महाभारत, दर्शन, पुराण, काव्यशास्त्र, योगशास्त्र, आयुर्वेद, कला, नीतिशास्त्र, विभिन्न सम्प्रदाय र तिनका विशेषता, वाङ्मयका विविध शाखा र विकासक्रम आदि समावेश छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्