एमसिसी सम्झौता संसदमा पेस, फागुन १२ गतेसम्म संसद स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी बीच भएको अनुदान सहायता सम्झौता’ पेस भएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता पेस गरे । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको विरोध तथा सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, का सांसद्को असहमतिकाबीच सरकारका तर्फबाट सदनमा उक्त सम्झौता पेस भएको हो ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति हुन नसक्दा संसद् सचिवालयमा दर्ता भए पनि सो सम्झौता संसद्मा टेबुल हुनसकेको थिएन । एमसिसी सम्झौतालाई टेबुल गर्न सत्ता साझेदार दलहरु आज मात्रै सहमतिमा पुगेका थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमसिसी सम्झौता संसदमा टेबुल गर्न सत्ता गठबन्धनका दलहरुबीच सहमति भएपछि कार्यव्यवस्था समितिको बैठकले त्यसलाई अगाडि बढाउने निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गते सो अनुदान सम्झौता अनुमोदनका लागि संसदमा पेश गर्न स्वीकृति दिएको थियो । तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले एमसिसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न २०७६ असार ३० गते संसद्मा पेश गरेका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्