नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख डा रत्नवीर सुनारले जानकारी दिए ।

“नागरिकमा स्वाथ्यको पहुँच वृद्धि गर्नका लागि निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो,“जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन गर्ने योजना रहेको छ ।”शिविरमा करिब एकसय जनाको स्वास्थ्य जाँच गरिएको र जटिल खालका बिरामीलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका सिफारिस गरिएको तिलागुफा नगरपालिका स्वास्थ्य सहायक नन्दा मल्लले जानकारी दिए । “जटिल खालका बिरामीलाई जिल्ला अस्पताल कालीकोट र अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गरेका छौं”, उहाँले भन्नुभयो,“सामान्य खालका बिरामीलाई शिविरमै औषधि उपचार गरिएको छ ।”

घुम्ती शिविरमा कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो मात्रा र बुस्टर डोजको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमिक्त प्रमुख डा सुनारले बताए । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले सबैलाई कोभिड–१९ विरुद्धको खोप दिने लक्ष्यसाथ घुम्ती शिविर सञ्चालन गर्दै आएको र जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविरलाई तीव्रता दिने डा सुनारले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्