पूर्वाधार निर्माणमा सफल हुँदै मधेश प्रदेश

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुर । केही वर्षअघिसम्म पूर्वाधार विकासमा पछाडी परेको मधेस प्रदेशमा पछिल्लो समय तीव्र गतिमा पूर्वाधार निर्माण भएका छन् । भौतिक पूर्वाधारको विस्तारसँगै प्रदेशवासी पनि खुसी भएका छन् । प्रदेश सरकार गठन भएको चार वर्षको अवधिमा मधेश प्रदेशले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य सेवा, कृषि, सिँचाइलगायत पूर्वाधार निर्माणको क्षेत्रमा ठूलो फड्को मारेको हो । सो अवधिमा प्रदेशको आठवटै जिल्लामा एक हजार ६२३ किलोमिटर सडक विस्तार भएको जनाइएको छ ।प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयका अनुसार प्रदेशभर २२४ किलोमिटर सडक कालोपत्र, २३७ किलोमिटर सडक ढलान, ९३७ किलोमिटर सडक ग्राभेल र २२५ किलोमिटर कच्ची सडक निर्माण गरिएको थियो ।

सडक निर्माण भएसँगै सवारीसधान सञ्चालनमा सहज भएको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बताए । सोही अवधिमा ३२ पुल र २९२ कल्भर्ट निर्माण गरी सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए । ‘‘हामीले सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ , मन्त्री यादवले भने ,‘‘सडक र पुल निर्माणलाई तीव्रता दिएसँगै यातायातका साधन सञ्चालनमा सहज भएको छ ।” केही वर्षभित्रै प्रदेशका अधिकांश सडक कालोपत्र गरिसक्ने लक्ष्य लिइएको उनको भनाइ थियो ।सरकारको नीति तथा कार्यक्रममा रहेका झोलुङ्गे पुलमध्ये तीनवटा निर्माण भइसकेको र बाँकी सात निर्माणको चरणमा रहेको जनाइएको छ । आठवटै जिल्लाका विभिन्न स्थानमा जनता आवास कार्यक्रममार्फत नौ हजार ४५ जनता आवास भवन, नौ सरकारी भवन तथा ९७ सामुदायिक भवन निर्माण गरिएको थियो । केही दिनअघि प्रदेश सरकारले सार्वजनिक गरेको चारवर्षे उपलब्धि प्रतिवेदनमा सिँचाइतर्फ २४ हेडबक्स, १७४ किलोमिटर कच्ची नहर, २९ किलोमिटर पक्की नहर र ७८ किलोमिटर तटबन्ध निर्माण गरिएको उल्लेख छ ।

उक्त मन्त्रालयका अनुसार सो अवधिमा तटबन्ध निर्माण गरी प्रदेशभर आठ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण गर्नाका साथै ५३ किलोमिटर बस्ती संरक्षण र २६ किलोमिटर घाट निर्माण गरिएको मन्त्रालयका सचिव दीपककुमार दासले जानकारी दिए ।यसबाहेक प्रदेशको ६४ वटै निर्वाचन क्षेत्रमा पाँच किलोमिटर सडक कालोपत्र गर्नका लागि बोलपत्र आह्वान भईसकेको उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई उच्च प्राथमिततामा राखेको प्रदेश सरकारले आठवटै जिल्लाका विभिन्न स्थानमा ६० बर्थिङ सेन्टर, ७६ सामुदायिक भवन, १८ धर्मशाला, तीन योग भवन, दुई शिशु सदन, २० खेलमैदान, पाँच छात्रावास, २२ विद्यालय भवन, तीन वृद्धाश्रम, नौ रङ्शाला, तीन कभर्डहल, दुई अस्पताल, दुई पुस्तकालय, सात मदरसा, तीन मस्जिद, एक बालगृह र दुईवटा शौचालय निर्माण गरिएको जनाइएको छ ।

सो अवधिमा प्रदेशका विभिन्न जिल्लाको ३१ विद्यालय र दुई वृद्धाश्रम भवन मर्मत तथा स्तरोन्नति गरिएको थियो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मन्त्रालयले सबैभन्दा होचो स्थान धनुषाको मुखियापट्टी गाउँपालिकाको मुसहरनियाँमा भ्यू टावर निर्माणको काम अघि बढाउन लागेको छ । त्यसका लागि मन्त्रालयको प्राविधिक टोलीले मुसहरनियाँ पुगेर सम्भाव्यता अध्ययन गरिसकेको छ । भ्यू टावरसहित सो ठाउँलाई पिकनिक स्पोर्टको रूपमा विकास गर्नका लागि अध्ययन भइसकेको र छिट्टै अरु काम पनि अघि बढाइने मन्त्री यादवले जानकारी दिए ।सरकार गठन भएदेखि नै प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले प्रदेशको विकासमा सकारात्मक परिणाम देखापरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले बताए । खानेपानी, सिँचाइ, सडक विद्युत्, पुल, भवनजस्ता आधारभूत भौतिक पूर्वाधार निर्माण तथा विस्तार गरी प्रदेशका जनतालाई सामाजिक एवं आर्थिकरुपले समृद्ध बनाउने उद्देश्यले पूर्वाधार निर्माणमा जोड दिइएको उनको भनाइ थियो ।

सहर र ग्रामीण भेगलाई जोड्न सडक पूर्वाधारलाई महत्व दिएर त्यहीअनुसारको योजना बनाइ सरकार अघि बढ्को मन्त्री साहले बताए । यसरी स्थापनाको छोटो अवधिमै प्रदेश सरकारले शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले जनताको जीवनस्तर बढेको बुद्धिजीवीहरुले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्