‘एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने’ : पूर्वप्रधानमन्त्री भट्टराई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन् । आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदबाट एकमतले पारित गर्नुपर्ने बताएका हुन । एकमतले पारित गर्नकालागि आवश्यक कदम चाल्न उनले सत्तापक्ष र प्रतिपक्षलाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी सम्झौता सामान्य अनुदानको विषय भएपनि यसलाई राजनीतिक दलहरुले गिजोलेको बताए । उनले एमसीसीलाई तलतलसम्म विषाक्त बनाउनेहरु नै व्याख्यात्मक टिप्पणीमार्फत् पारीत गर्ने ठाउँमा आइपुगेकोमा खुशी व्यक्त गरे । उनले व्याख्यात्मक टिप्पणीलाई नेताहरुले आफ्नो लाज छोप्न बनाएको पातलो लगौटी भएको टिप्पणी गरे । पूर्वप्रधानमन्त्री भट्टराईले २०६६ सालपछिका सबै प्रधानमन्त्रीहरुको कार्यकालमा यो सम्झौता अगाडी बढेको उल्लेख गरे ।

उनले हिजो सम्झौता अगाडी बढाउने र आज चर्को स्वरमा विरोधमा उत्रिनेहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताए । एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भए सबै नेताहरुले प्रायश्चित गर्न सक्नुपर्ने उनको भनाई छ ।  पूर्वप्रधानमन्त्री भट्टराईले महत्वपुर्ण विषयमा छलफल हुँदा पनि संसद अवरोध भएको भन्दै सत्तापक्ष र प्रतिपक्षबिचमा समझदारी गरेर संसद सुचारु हुनुपर्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्