काठमाडौं महानगरपालिकाद्दारा तीन भेन्टिलेटर सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । काठमाडौं महानगरपालिकाले सूर्यविनायक नगरपालिकालाई एक र कामपा वडा नं ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई दुई गरी तीन भेन्टिलेटर सहयोग गरेको छ । सूर्यविनायक नगरपालिकाले आवश्यकताका आधारमा उक्त भेन्टिलेटर उपयोग गर्नेछ । कामपासँग भगिनी सम्बन्ध स्थापना भएको तिब्बतको ल्हासा नगरले पाँच थान भेन्टिलेटर उपलब्ध गराएको थियो । तीमध्ये तीन भेन्टिलेटर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

भेन्टिलेटर उपलब्ध गराएपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका सबै नगरसँग नगर–नगर साझेदारी कार्यक्रम गरेको बताए । पाँच प्रदेशका पाँच नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेर पार्क तथा हरियाली बढाउने योजनाका लागि रु एक करोड ५० लाखका दरले सहयोग गरिएको उनले जानकारी गराए ।

बुधबार आयोजना भएको कार्यक्रममा सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगर अस्पताललाई कामपाले भेन्टिलेटर उपलब्ध गराएपछि आकस्मिक सेवाका लागि सहज भएको प्रतिक्रिया दिए । यसअघि कोरोना महामारीको समयमा पनि कामपाले काठमाडौं उपत्यकाका विभिन्न १२ अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्