शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होशार मनाउने परम्परा रहेको छ । शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ । यस पटक बाँदर वर्ष पूरा भई चरा वर्ष शुरु भएको छ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने विश्वास रहेको छ ।

ल्होसार तिब्बतिय राज परम्पराबाट आएको र ल्होसार शब्द पनि तिब्बतीयन भएको बौद्धधर्मावम्बी पासाङ लामाले बताए । उनले ल्होसार नयाँ वर्षको रुपमा रहेको र यसले हर्ष, उमंगलाई भर्ने जनविश्वास रहेको बताए । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्