मन्त्री झाँक्रीद्दारा नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका छन् । सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।  उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिए । मन्त्री झाँक्रीले मन्त्रालय र भवन नर्मिाण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा ध्यान केन्द्रित गरेर काम गर्नुपर्ने बताए ।

उनले सिंहदरवारभित्र नै नेपाली सेनाको व्याण्ड दलको लागि भवन निर्माण गर्ने कुरा जग्गा प्राप्तीको अभावका कारण सफल नभएको र जग्गा प्राप्ति गर्ने काम भइरहेको बताए । देश सञ्चालन हुने केन्द्र सिंहदरवारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्न दिने वातावरण नबनाइ काम गर्न आग्रह गरे । सिंहदरबार भित्र बन्न लागेको चण्डीदल गणको भवन निर्माणको जिम्मा बिकोइ, रसुवा र तुँदि जोइन्ट भेन्चरले प्राप्त गरेको छ । भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको र निर्माण अवधि २ वर्ष रहेको छ ।

कुल क्षेत्रफल एक लाख वर्गफिटमा बन्न लागेका दुई भवनमा ७०२ जना जवान रहनसक्ने गरेर डिजाइन गरिएको छ । त्यस्तै भवन परिसरमा ४ वटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउण्ड समेत बनाइनेछ । कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्