कालीकोटमा राजनीतिक दलको सक्रियता सँगै बढ्यो चुनावी सरगर्मी

Ad
  • कालोपाटी सम्बाददाता

कालीकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन कालीकोटका राजनीतिक दल सक्रिय भएका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकासहित ८२ वटै वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेकोे निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ । जिल्लाका मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेता गाउँगाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो । आगामी निर्वाचनमा वडादेखि पालिकासम्मको नेतृत्वमा पुग्न आकाङ्क्षीले दलभित्रसमेत आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये पाँच वटा पालिकामा माओवादी केन्द्र, एक पालिकामा नेपाली कांग्रेस र एक पालिकामा नेकपा एमाले र दुई पालिकामा एकीकृत समाजवादी विजयी भएका थिए । कांग्रेस विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । एमाले आफ्नो साख जोगाउने लक्षमा छ । नेकपा माओवादी केन्द्र पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ । स्थानीय तह र वडास्तरमा रहेका पार्टीका समितिको बैठक डाकेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले थप निर्वाचन लक्षित योजना पनि बनाएको पार्टीका जिल्ला सभापति अम्बबहादुर शाहीले बताए ।

“सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौं, पार्टी सङ्गठनसँगै विभिन्न भ्रातृ तथा सुभेच्छुक सङ्गठनहरु चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन्”, उनले भने “पालिका कार्यसमितिले निर्णय गरेर टोल अभियान सञ्चालन गरिरहेका छन् ।” पालिका कमिटीको बैठकमार्फत वडा कमिटी हुँदै टोल र टोल कमिटी गठन गर्ने र जनवर्गीय सङ्गठनको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए । “स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीलाई चुनावमा केन्द्रित हुन भनेका छौँ”, उनले भने , “सबै पालिका र वडा कमिटी क्रियाशील छन्, यसपटक माओवादीको सुदृढ सङ्गठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ ।”

एमालेबाट विभाजन भएर बनेको नेकपा ९एकीकृत समाजवादीले समेत आफ्नो सङ्ठनलाई जिल्लाको सबै पालिकास्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी सङ्गठन निर्माणसँगै जनवर्गीय सङ्गठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको पार्टीका जिल्ला अध्यक्ष विश्वराज बमले बताए । जिल्लामा एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदातासमेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्