अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा चार महिलाहरु सम्मानित

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । न्हापांगु पलाः नेवाः मिसा पुचःले चार जना महिलाहरुलाई सम्मान गरेको छ । आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएका उनीहरुलाई ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । सम्मानित हुनेहरुमा क्रमशः भ्यान्टी महर्जन, विश्वको सर्वोच्च शिखर सगरमाथामा दक्षिण र उत्तरी मोहडाबाट सफल आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जन, मिस नेवाः ११३२ तथा रञ्जना लिपिका प्रशिक्षक सुनिता डंगोल र वन्दे टोलकी १०५ वर्षिया बुद्धिमाया महर्जन हुन् ।

यो वर्षको यशोधरा सम्मान ललितपुर थेच्व निवासी भ्यान्टी महर्जनलाई दिइएको छ । यसअघि वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीकी जहान राधादेवी जोशीलाई सोही सम्मान दिइएको थियो । निश्चित व्यक्तिलाई तत् तत् क्षेत्रमा सफल बनाउन महिलाको भूमिका अग्रनी रहने वास्तविकतालाई मूल्यांकन गरी मिसा पुचःले प्रत्येक वर्ष यशोधरा सम्मान दिइँदै आएको छ । त्यसैले सर्वोच्च शिखर सगरमाथा आरोहणमा कल्पनालाई प्रोत्साहित गरेकी सासुआमा भ्यान्टीलाई यो वर्षको विशेष सम्मान दिइएको न्हापांगु पलाः नेवाः मिसा पुचःकी अध्यक्ष शिला साय्मिले जनाइन् । हुनपनि नेपाली समाजकी बुहारीले सर्वोच्च शिखर दुई पटक आरोहण गर्नु चानचुन विषय भने होइन । तर कल्पनाले आफ्नो दृढ इच्छाशक्ति, घरपरिवारको प्रोत्साहन र पर्यटन व्यवसायी रविन्द्र महर्जनको सहयोगमा २०७५ सालमा हिमाल आरोहण गरेकी हुन् ।

कार्यक्रममा सहभागी जेष्ठ नागरिक ३५ जना आमाहरुलाई सम्यक र सिरपा साय्मिले आफ्नो बिवाह उत्सवको उपलक्ष्यमा साडी र चोलो, न्हापांगु पलाः नेवाः मिसा पुचःले जुत्ता, कांग्रेस नेतृ राज्यलक्ष्मी श्रेष्ठले पछ्यौरो र माधुरी मानन्धरले नगद हस्तान्तरण गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरुको हकहितको लागि आफै अगाडि बढ्नुपर्ने तर्क गरिन् । “हामी महिलाहरुलाई अहिले पनि घरको काम सकाएर मात्र बाहिरको काम गर्ने फुर्सद मिल्छ । गृहिणी भएर घरमै सीमित हुँदा महिलाको क्षमताको कदर हुन नपाएको हो । त्यसैले अब महिलाहरु पनि जागरुक हुनु आवश्यक छ ।” उपमेयर श्रेष्ठको भनाइ थियो । विगतका समयमा कांग्रेस नेतृ मंगलादेवी सिंहले महिलाको शिक्षाको अधिकार तथा सतिप्रथा विरोधी आवाज बुलन्द गरेको श्रेष्ठले स्मरण गरिन् ।

अग्रजहरुको योगदानको कारण अहिले महिला तथा पुरुष सहकार्य गरी अघि बढ्ने स्थिति आएको उहाँको भनाइ थियो । नेपालको संविधान समावेशी भएको आधारले देशभरका करिव सबैजसो स्थानिय तहमा महिलाहरुको सहभागिता रहेको समेत बताइन् । अब समावेशी आधारले भन्दा पनि पुरुषसँगको प्रतिस्पर्धाको आधारले अगाडि बढ्नुपर्ने तर्क गरेकी थिइन् । कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ, २० नम्बर वडाया वडाध्यक्ष राजेन्द्र मानन्धर, मिसा पुचःका सल्लाहकार संघरत्न शाक्य लगायतको सहभागिता थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्