‘समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यक’ : मुख्यमन्त्री राई

Ad
  • कालोपाटी सम्बाददाता

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् । राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औल्याए । सामाजिक विकास मन्त्रालयद्वारा ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले महिलाको समानुपातिक प्रतिनिधित्व थप हुनुपर्नेमा जोड दिँदै उनीहरुको सुझबुझ र श्रमबाट घरपरिवार, समाज र देशको चौतर्फी विकास हुने धारणा राखे । समाजमा भ्रुण हत्या जस्तो अवैध कार्य भइरहेकोले सबैले यस कार्यलाई अविलम्ब रोक्नुपर्नेमा उनले जोड दिए।

स्वास्थ्यमन्त्री जयराम यादवले महिलाले आफ्नो अधिकार मागेर प्राप्त नभएमा खोसेर लिनुपर्छ भने । उपसभामुख सरस्वती पोखरेलले महिलाको सङ्घर्षबाट स्थानीय पालिकामा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित भएको चर्चा गर्दै छोरीलाई उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित गराउन नहुने धारणा राखे । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी कोशराज दाहालले महिलामाथि हुने विभेद् अन्त्यका लागि ‘महिला मैत्री’ समाज निर्माणका लागि लाग्नुपर्ने आवश्यकता औल्याए ।

मन्त्रालयका सचिव दीर्घराज मैनाली, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, गैरसरकारी महासङ्घका उपाध्यक्ष सीता शर्माले समाज र राष्ट्रको प्रगतिमा महिलाको महत्वपूर्ण भूमिका हुने बताए । यसअघि देवकोटा चोकबाट शुरु भएको प्रभातफेरिले नगरको मुख्य मुख्य भाग परिक्रममा गरी आर्दश विद्यालयमा पुगी सभामा परिणत भएको थियो । यसैगरी आज आदर्श विद्यालको प्राङ्गणमा आयोजित खुल्ला रक्तदानको स्वास्थ्यमन्त्री यादवले रक्तदान गरी शुभारम्भ गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्