एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए ।

उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे । अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए । नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरु खुशी हुने उनले बताए ।प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए ।

निर्माण व्यवसायलाई अझै व्यवसायिक र प्रतिस्पर्धि बनाउनु आवश्यक रहेको उनले बताए ।  उनले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरुको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिए । उनले निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११औँ संशोधन गरिएको स्पष्ट पारे । विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण व्यवसायी माथि प्रश्न उठ्ने गरेको भन्दै उनले काम ढिलो हुनाका कारण र समस्या समाधानका उपायको सम्बन्धमा सरकार व्यवसायीहरुसँग छलफल गर्न तयार रहेको पनि बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्