भैँसी पालेर नामसँगै दाम कमाउँदै दाङका किसान डाँगी

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका युवालाई दाङका एक महिलाले गतिलो सन्देश दिएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४३ वर्षीया वकी डाँगी व्यावसायिक भैँसीपालन थालेका छन् । भैँसीपालन व्यावसाय शुरु गरेकी उनले अहिले नामसँगै दाम कमाउँदै आएका हुन् । व्यावसायिक भैँसीपालनबाट राम्रो आम्दानी गर्दै आएकी उनीसँग अहिले जिल्लाका अन्य पशुपालक किसानले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् । छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी विगत आठ वर्षदेखि व्यवसायिक भैंसीपालनमा रमाउँदै आएकी छन् । उनी आफूसँगै घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । अहिले उनले आफ्नो भौंसीफार्ममा दुई जनालाई रोजगारी समेत दिएका छन् ।

पशुपालन पेशाबाट सन्तुष्ट भएका डाँगीले भने , “यो पेशाबाट वार्षिक करिब सात लाख बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि सुरु हुन्छ । प्रायःभैँसीका पाडापाडीको स्याहारसुसारमा उनले धेरै व्यस्त देखिन्छन् । परम्परागत रुपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै भैँसीपालनको सुरुआत गरिएको बताए । उनले भने , “सुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरिद गरी व्यवसाय गरेका हौँ । अहिले भने फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।”

तीमध्ये १० वटा दुना रहेका छन् । ती भैँसीले दैनिकरुपमा ८० देखि ९० लिटर दूध दिने गरेको र उक्त दूधलाई तुलसीपुर बजारमा आफैँले डेरी उद्योग सञ्चालन गरी बिक्री गर्ने गरेको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लग्ने गरेको उनले बताए । कोरोना महामारीमा आफूले उत्पादन गरेको दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भए पनि अहिले भने बजारको कुनै समस्या नरहेको उनको भनाइ छ । “विगत छ महिनायता आफैँले डेरी उद्योग पनि सञ्चालन गरेका छौँ, अहिले आम्दानी राम्रो छ”, उनले भने । दाङमा अहिले दूधको खुद्रा मूल्य रु ८० र दहीको रु ९० प्रतिलिटर रहेको र आगामी चैत १ गतेदेखि भने सो मूल्यमा रु १० वृद्धि हुने यसअघि नै निर्धारण भइसकेको छ ।

हिजो मङ्गलबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौराका ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताए । उनले भने , “यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।” डाँगीको फार्ममा अहिलेसम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मूल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ । डाँगीले भने , “आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष कम्तीमा पनि रु सात लाख बचत गर्न सफल भएका हौँ । यसपटक डेरी पनि सञ्चालन गरेकाले त्यो बचत रकम बढ्ने अपेक्षा लिएकी छु ।”

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उनको भनाइ छ । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, उनले भने । कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागिसमेत मानिस आउने गरेका छन् । “पढेलेखेका युवा पैसा कमाउनकै लागि जागिर खानैपर्छ वा विदेश नै जानुपर्छ भन्ने छैन”, उनले भने । पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने उनको भनाइ छ । राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने धारणा उनको छ । त्यस्तै उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको सुझाव छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्