‘जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न पहल गरौँ’ : मन्त्री भुसाल

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरूले जलवायु परिवर्तनका जोखिमहरू बढाउँदै लगेको बताएका छन् । आज आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको बताए ।

जलविद्युत आयोजनाहरू गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न तथा विभिन्न प्रकोपका कारण आइपर्ने जोखिमबाट सुरक्षित राख्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भुसालले आयोजनाहरूको दीगो विकासका लागि सुरक्षित कदम चाल्नुपर्ने बताए । जलविद्युत आयोजनाहरू सुरक्षित नभएमा देशकै अर्थतन्त्रमा असर पर्न सक्नेतर्फ सचेत गराउँदै उनले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन तथा विभिन्न निकायसँग समन्वय गर्न उर्जा मन्त्रालयले आवश्यक पहल गर्ने विश्वास दिलाए ।

जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको स्मरण गर्दै मन्त्री भुसालले इलाम नगरपालिका र माई जोगमाई गाऊँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जोखिम न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गरे । सो अवसरमा मन्त्री भुसालले उत्पादित विद्युतलाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति नियम तथा वातावरण तयार गरी जलविद्युतको दीगो विकासका लागि निरन्तर प्रयास गरिरहेको जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्