बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा

Ad
  • कालोपाटी सम्बाददाता

तम्घास । गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाएका छन् । आलु खेती उनको पुख्र्यौली पेशा हो । गतवर्ष उनले ६० क्विन्टल आलु बिक्री गरे । जसबाट डेढ लाख आम्दानी भयो ।“उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराइका जिल्लामा बिक्री हुन्छ”, उनले भने , “यो वर्ष उत्पादन घटेर ४५ क्विन्टल हुने अनुमान छ ।” टाहाटिमको जग्गा पनि आलु खेतीलाई उपयुक्त भएकोले पुख्र्यौली पेशालाई निरन्तरता दिएको उनी बताउँछन् ।

अहिलेको मौसममा आलु लगाए पनि अरु बेला मौसम अनुसारका तरकारी खेती लगाउने उनले यसबाट वार्षिक ५० हजार आम्दानी गर्दछन् । त्यस्तै उनले गाईपालन पनि गरेका छन् । जसबाट परिवारलाई पुग्ने आम्दानी गाउँमै भएको उनी बतँछन् । “अहिले आलु, त्यसपछि तरकारी र १२ महिना दूध बिक्रीबाट आम्दानी भइरहेको छ”, उनले भने “आफ्नै गाउँमा स्वरोजगार भएको छु ।” अहिले आलु खेतीको लागि स्मार्ट कृषि गाउँ आलुखेती कार्यक्रम सञ्चालन भएको छ । जसबाट बीउ तथा मेसिनमा अनुदान पाउँदा उनको हौसला बढेको छ । सोही ठाउँकै राधिका गिरीले पाँच रोपनी जग्गामा आलु लगाएर गत वर्ष १५ क्विन्टल बिक्री गरे ।

उत्पादन भएको आलु पैँचो पसलमा प्रति किलो रु २० देखि ३७ सम्ममा बिक्री हुन्छ । अन्य समयमा सोही जग्गामा सिमी, गोलभेँडा, काउलीलगायतका मौसमअनुसारका तरकारी लगाइन्छ । यसले घरखर्च चलाउन सहयोग पुगेको उनको भनाइ छ । “आलु र तरकारी खेतीले घरखर्च चलेको छ”, उनले भने , “अहिले खनेको आलु सबै बीउको लागि प्रयोग हुन्छ ।” गतवर्ष आलुको बीउ प्रतिकिलो रु १८० परेकोमा अहिले स्मार्ट कृषि गाउँ लागू भएपछि अनुदानले गर्दा ७० देखि ८० मा पाइएको थियो ।

मूल्य र डढेलोको समस्या

मेघराज र राधिका त आलुखेती गर्ने यो गाउँका उदाहरणीय पात्र मात्रै छन् । उनीहरुजस्तै बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा सक्रिय छ । बम्घामा आलुखेतीको लागि उपयुक्त जग्गा रहेकोले पनि किसान यसतर्फ आकर्षित भएका हुन् । स्मार्ट कृषि गाउँअन्तर्गत ६० परिवार व्यावसायिक आलु खेतीमै जोडिएका छन् जसबाट उनीहरु मनग्य आम्दानीतर्फ उन्मुख भएको स्मार्ट कृषि गाउँका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।

व्यावसायिक आलु खेती गर्ने किसानमा आलुको मुख्य समस्या भनेको डढेलो रोगको हो । अनुदानले गर्दा आलुको बीउ कम मूल्यमा पाइए पनि खर्चअनुसारको उत्पादित आलुको मूल्य नपरेको कार्यक्रमका सचिव एवं किसान मेघराज गिरीले बताए । “बजारमा रु एक सयसम्म आलुको मूल्य पर्छ”, उनले भने , “यहाँबाट औसतमा ३० प्रतिकिलोमा बिक्री हुन्छ, बीचको मूल्य व्यापारीको हातमा पर्छ ।” त्यसका साथै डढेलोले आलुको उत्पादन घटेकोले सहयोग गरिदिन कार्यालयलाई अनुरोध गरे । रुरुक्षेत्र गाउँपालिकाको बम्घाबाट गत वर्ष मात्रै कूल ९८ मेट्रिक टन आलु बिक्री भएको छ ।

गत वर्षबाटै बम्घामा ६० लाखको लागतमा ‘स्मार्ट कृषि गाउँ बम्घा टाहाटिम आलु र तरकारी पकेट समूह’ कार्यक्रम लागू भएको छ । यस कार्यक्रममा ६० परिवारका चार सय नगारिक लाभान्वित छन् । जसमा गत वर्ष लुम्बिनी प्रदेश सरकारको ५० लाख र पालिकाको १० लाखमा आलु र तरकारी खेतीसम्बन्धी विभिन्न काम भएका छन् । यो वर्ष पनि कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारको ३७ लाख ५० हजार र पालिकाको ११ लाख २५ हजार विनियोजन भएको छ । विनियोजित रकमबाट किसानलाई बीउ, औजार, विषादी लगायतका सामग्रीमा ८५ प्रतिशतसम्म अनुदान दिइने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरि आचार्यले जानकारी दिए । त्यसका साथै बिक्री नभएको आलु सङ्कलनका लागि सङ्कलन केन्द्र पनि बनाइएको छ । जहाँ अहिले खनेको आलु असारसम्म भण्डारण गर्न सकिन्छ ।

‘बीउ मात्रै उत्पादन गर्नु’

कृषि अधिकृत आचार्यले किसानलाई आलुको बीउ मात्रै उत्पादन गर्न आग्रह गरिएको बताए । उनले भने , “बीउको लागि उत्पादित आलु ज्ञान केन्द्रले तोकेको मूल्यमा बिक्री हुन्छ ।” गतवर्ष सोही ठाउँबाटै ५५ क्विन्टल बीउ खरिद गरेको उनले सुनाए । डढेलोको विषादीको लागि यो वर्ष कार्यक्रममा समेटिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्