भालेको डाकसँगै पानी लिन पधेँरामा धाउनुपर्ने अवस्थाको अन्त्य

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । पश्चिम म्याग्दीका पाँच गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ । मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको हो । गाउँगाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै निम्ति भौतारिनुपर्ने बाध्यताबाट मुक्त भएको वरंजाका इन्द्रबहादुर रोकाले जानकारी दिए ।

उनले भने , “केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीमा पुग्नुपथ्र्यो तर, अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाइ गर्दै आएका छौँ ।” बस्तीबस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयवासीको घरको करेसाबारी हरियाली देखिन थालेको छ । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुका साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको अर्मनकी राधिका सापकोटाले बताए । “पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो, पशुचौपायालाई त कुरै थिएन तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ”, उनले भने ।

जिल्लाका मध्य भाग र म्याग्दी तथा कालीगण्डकी नदीका तटीय क्षेत्रमा पर्ने गाउँहरु वर्षौंदेखि खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए । नागरिकको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । पश्चिम म्याग्दीमा खानेपानी आयोजना सञ्चालनभएसँगै यस क्षेत्रका आठ हजार बढी घर परिवार लाभान्वित बनेका उनले जानकारी दिए ।

जिल्लाका केही स्थानीय तहहरुमा खानेपानीको सहज पहुँच पुगेर स्थानीयको जनजीवन सरल र सहज बनेको भए पनि बेनी नगरपालिकाकाका अधिकांश वडामा खानेपानीको समस्या विकराल बन्दै गइरहेको स्थानीयले बताएका छन् । बढ्दो जनसङ्ख्या र घट्दो पानीका स्रोतका कारण नगरपालिका क्षेत्रमा खानेपानीको समस्या बढ्दै गइरहेको हो । नगरपालिकाले एक घर एक घाराको अवधारणा लिएको भए पनि पानीको स्रोतको अभावमा योजना प्रभावकारी हुन नसकेको पाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्