‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ ।

नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाका अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगार पटार गरेका छन् । फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका सचिव योगेन्द्रमान शेरचनले बताए ।

“तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृहरुलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, शेरचनले भने , “आफन्तलाई बोलाएर मीठा मीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा तारा खेल (आर्चरी) सुरु भएको छ ।

तारा खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिक ग्रन्थमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्तिकालदेखि नै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जङ्गली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा विधाको रुपमा मान्यता पाएको छ ।

आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्द अल्पसङ्ख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको थकाली समुदायका अगुवा गोपाल भट्टचनले बताए । एउटा समुहमा छ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ ।

पछिल्लो समय अन्य धातुका समेत धनुष बनाउने गरिएको छ । एक सय देखि डेढ सय मिटरको दूरीमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र मा कोपिएका आधारमा खेलको मूल्याङ्कन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्