डलर कार्डबाट ११ महिनामा २७ करोड बिदेसियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं  । ११ महिनामा २७ करोड २५ लाख रुपैयाँ डलर कार्डमार्फत बिदेसिएको छ । बैंकहरुले ०७७ चैतबाट राष्ट्र बैंकले स्वीकृति दिएपछि डलर कार्ड जारी गर्न
सुुरु गरेका हुन् ।

माघ ०७७ मा मुलुकको विदेशी मुद्राको सञ्चिति सर्वाधिक १४ खर्ब ६२ अर्ब रुपैयाँसम्म पुगेको थियो । सोही कारण सर्वसाधारणले बाहिरी मुलुकबाट पाइने सेवा प्राप्त गर्न सकिने गरी वाणिज्य बैंक र विकास बैंकलाई डलर कार्ड जारी गर्न सक्ने अनुमति राष्ट्र बैंकले दिएको थियो । प्रतिव्यक्ति वार्षिक पाँच सय अमेरिकी डलरसम्म खर्च गर्न सकिने गरी बैंक तथा विकास बैंकहरूले प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था छ । बैंकहरूमा विदेशी मुद्रामा खाता हुने र नहुने दुवैले यस्तो कार्ड लिन सक्ने सुविधा दिइएको छ ।

हाल २१ हजारले यस्तो डलर कार्ड प्रयोग गरिरहेका छन् । यो अवधिमा यस्तो कार्डमा कुल ४६ लाख १२ हजार डलर ९करिब ५४ करोड ८८ लाख रुपैयाँ० लोड गरिएको छ । यस्तो कार्डमा मासिक औसत तीन लाख ९८ हजार डलर ९चार करोड ७४ लाख रुपैयाँ० लोड भइरहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । खर्चिएको रकमका आधारमा भने नेपालीहरूले मासिक एक लाख ९७ हजार डलर ९दुई करोड ३५ लाख रुपैयाँ० बराबरको विदेशी सेवा प्राप्त गरिरहेका छन् । राष्ट्र बैंकले डलर कार्डको सुविधा सुरु गर्दा विदेशी मुद्राको सञ्चिति उच्च रहेको थियो । यस्तो सञ्चितिले मुलुकको तत्कालीन आयात प्रवृत्तिका आधारमा ११ महिना नौ दिनको वस्तु तथा सेवा आयात धान्ने अवस्था थियो ।

तर, पछिल्लो समय मुलुकको विदेशी मुद्राको सञ्चिति उच्चदरमा घटेको छ । माघमा यस्तो सञ्चिति ११ खर्ब ७३ अर्ब रुपैयाँमा सीमित भएको छ । यस्तो सञ्चितिले मुलुकको ६ महिना सात दिनको वस्तु तथा सेवा आयात मात्रै धान्ने अवस्था बनेको छ । कोभिडपछि बढेको उच्च आयात, पर्यटन क्षेत्रबाट हुने आम्दानीमा कटौती, रेमिट्यान्स भित्रिने दरमा आएको कमीका कारण यस्तो सञ्चिति घटिरहेको हो । पछिल्लो समय मुलुकभित्रबाट कतिपय सर्वसाधारणहरूले क्रिप्टोकरेन्सीलगायतका प्रतिबन्धित लगानी उपकरणहरूमा खर्च गरिरहेका कारण मुलुक भित्रिने रेमिट्यान्समा समेत कमी आइरहेको छ । केही भने यही प्रयोजनका लागि डलर कार्डको दुरुपयोग बढ्यो कि भन्ने प्रश्न पनि उठ्न थालेका छन् । तर, राष्ट्र बैंकले भने यसलाई अस्वीकार गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरूमार्फत भइरहेको यस्तो कार्डको प्रयोगको जानकारीसमेत राष्ट्र बैंकलाई गराउनुपर्छ,’ राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकृत नारायण पोखरेलले भने, ‘हामीले यसमार्फत हुने हरेक भुक्तानी ट्रयाक गरिरहेका छौँ, यसको दुरुपयोग भएको छैन ।’ राष्ट्र बैंकका अनुसार यस्तो कार्ड प्रयोगकर्ताले आफूलाई विदेशबाट मगाउन चाहिएको सामान अनलाइनमार्फत खरिद गर्न, शैक्षिक सामग्रीहरू खरिद गर्न तथा पहुँच बनाउन, मनोरञ्जनात्मक ९नेटफ्लिक्सजस्ता ओटिटी प्लेटफर्महरू० सामग्री हेर्नलगायतमा प्रयोग भइरहेको छ ।

हुनत विदेशी मुद्रा सञ्चितिमा आइरहेको कमीले मुलुकको भुक्तानी सन्तुलनमा समेत दबाब बढ्न थालेको छ । यस्तो समयमा विदेशी मुद्राको खर्च निकै सम्हालिएर गर्नुपर्ने धारणा सार्वजनिक भइरहेको छ । राष्ट्र बैंकले भने यसमा तत्काल कुनै निर्णय भने गर्न सकेको छैन ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्