महिला तथा दलितका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो ।

नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम्भावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख २० हजारबाट लोक सेवाको तयारी कक्षा सञ्चालन गर्न थालिएको छ । नगरपालिकाको सहयोगमा लक्षित बर्ग मध्येका महिला र दलितलाई लोकसेवाको ट्युसन पढाउन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । “सामाजिक उत्तरदायित्व बहन गर्नका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको छ, यसका लागि लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उनले भने , “नगरपालिकाले तयारी कक्षा सञ्चालन खर्च दलितका लागि ८० प्रतिशत र महिलाका लागि ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने छ ।”

अहिले ५२ महिला तथा दलितहरुका लागि लोकसेवा तयारी कक्षा स्थानीय संयोजनकर्ता हेमन्त मल्टी एजुकेशनल ट्युसन सेन्टरमा सञ्चालन गरिएको छ । अहिले २२ महिला र ३० दलितका लागि लोक सेवा तयारी कक्षा दिन थालिएको हो । महिला तथा दलितमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दारका रुपमा उनीहरुलाई स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरप्रमुख पौडेलको भनाइ छ । समाज परिर्वतनका लागि महिला तथा दलितको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले उनीहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताए ।

अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका महिला तथा दलित वर्गले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध हुने उनको भनाइ छ । लोकसेवा आयोगमा यहाँका महिला तथा दलितको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको बताउँदै गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन हुने भएपछि यहाँका दलित तथा महिला खुसी भएको नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्