माछापालनमा किसानको आकर्षण बढ्दो, व्यावसायिक माछा पालेर आम्दानी बढाउने लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । दश वर्षदेखि माछापालन गरिरहका रुद्र पौडेल माछापोखरी विस्तारको तयारीमा छन् । बागलुङ नगरपालिका–१२ को पात्लेखेतमा उनका चार पोखरी छन् । पौडेलले अझै केही पोखरी विस्तार गरेर व्यावसायिक माछापालन थाल्दै छन् । परम्परागत शैलीमा माछा पाल्दै आएका पौडेलले माछापालनसम्बन्धी थप ज्ञानको महसुस गरे । नगरपालिकाले सुरु गरेको तीनदिने माछापालनसम्बन्धी सीपमूलक तालिममा पौडेल सहभागी भएका छन् । “आजसम्म भनेको आधारमा गरियो, अब ज्ञान लिएर व्यावसायिक हिसाबले माछा पाल्ने सोँच छ”, पौडेल भने ।

बागलुङ–३ को तरकारी गाउँमा १० वर्षदेखि माछा पालिरहेका गङ्गाबहादुर थापाले ट्राउट माछा पाल्ने योजना बनाएका छन् । चिसो पानीमा मात्रै हुने ट्राउट माछाको व्यावसायिक पालनका लागि उपयुक्त ठाउँ भेटेपछि थापाले माछा पालनसम्बन्धी ज्ञानको खोजी गरे । नगरपालिकाको तालिममा थापा पनि सहभागी भएका छन् । नगरपालिकाले आयोजना गरेको तीनदिने तालिममा पौडेल र थापाजस्ता केही पुराना तथा केही नयाँ व्यवसाय थाल्ने किसानको उत्साहजनक सहभागिता छ । पुराना किसानले सीप खोज्दै छन् भने नयाँ किसान सीप सिकेर व्यवसाय गर्ने तयारीमा छन् । नगरपालिकाले आयोजना गरेको तालिममा सहभागी झण्डै ३० किसानको व्यावसायिक माछा पालेर आम्दानी बढाउने एउटै लक्ष्य छ ।

बागलुङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदो छ । पाल्नका लागि सजिलो र उत्पादन राम्रो दिने भएकाले माछापालनमा किसानको आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषि सापकोटाले बताए । उनले पछिल्लो समय माछाको माग बढ्दै गएकाले किसानको आकर्षण माछामा रहेको बताए । सरकारी अनुदान र सीप हस्तान्तरणले किसानलाई सघाएको उनको धारणा थियो । बाँझो जग्गाको सदुपयोग गर्ने, स्थानीय दानाको प्रयोग गर्ने र उत्पादन लिनेगरी किसान माछापालनमा आकर्षित भएको नगर प्रमुख जनकराज पौडेलले बताए । अहिले पनि विदेशबाट माछा आयात हुने गरेको जनाउँदै पौडेलले माछाको उत्पादन र बजारीकरण बढाउन किसानलाई आग्रह गरे । “हामीले उत्पादनमा अनुदान र सीपमूलक तालिममा सहयोग गरेका छौँ, किसानले मेहेनत गरेर उत्पादन गर्दछन् ”, पौडेल भने , “यो पनि एउटा सजिलो व्यवसाय हो ।”

माछा विज्ञ गायत्रीराज वाग्लेले माछापालन र खाने शैलीमा परिवर्तन आवश्यक रहेको बताए । स्वास्थ्यका हिसाबले माछा खानु उपयुक्त रहेको उदाहरण दिँदै उनले सीपको अभावमा माछाको उत्पादनमा लागेका किसान निरुत्साहित हुने गरेको बताए । माछा पाल्न र खान दुवै हिसाबले फाइदाजनक रहेको उनले सुनाए । तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण वाग्लेले गर्न छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्