प्रधानमन्त्री देउवासँग चिनियाँ परराष्ट्रमन्त्री वाङको भेटवार्ता

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन्  ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ एक घण्टा भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिए । भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उनले बताए ।

चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउनेलगायत विषयमा पनि दुवै पक्षबीच सौहार्द रुपमा छलफल भएको थियो । सोही अवसरमा पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण गरिएको छ ।

परराष्ट्रमन्त्री डा खड्काको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री वाङ शुक्रबार आइपुगेका हुन्  । दुवै देशका परराष्ट्रमन्त्रीबीच आजै द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्