सैनिक अस्पतालद्वारा पोखरा वृद्धाश्रममा स्वास्थ्य शिविर आयोजना, दुई लाख बराबरको औषधि वितरण

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । पोखरा वृद्धाश्रमको २५औँ स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फूलबारी पोखराले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा अस्पतालका डा अमृत घिमिरे, डा स्वेता राज्यलक्ष्मी राणा, डा शिशिर श्रेष्ठ, डा अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेलसहितको १३ सदस्यीय टोलीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा पोखरा वृद्धाश्रम र आसपासका ५३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै रु दुई लाख मूल्य बराबरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो । सेनाका प्राविधिक सहायक रथी डा भुवनराज कुँवरले शिविरको शुभारम्भ गर्दै सेना नागरिक समाजसँग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको बताए । विजयपुर कमाण्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा वृद्धाश्रममा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जानकारी दिँदै उनले राज्य र नागरिकलाई पर्ने जस्तोसुकै अप्ठ्यारोमा पनि सेनाले सहयोग गर्दै आएको जानकारी दिए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको बताए । पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजनभन्दा पनि औषधोपचारमा बढी खर्च हुने गरेको बताए । वृद्धाश्रममा हाल समाजका विपन्न, असहाय एवं अपहेलित ५५ ज्येष्ठ नागरिक आवद्ध रहेका कोषाध्यक्ष धर्म गुरुङले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्