‘न्यायिक समितिका माध्यमबाट न्यायमा पहुँच पुगेको छ’ : प्रदेश प्रमुख गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले न्यायिक समितिमार्फत सर्वसाधारणमा न्यायको पहुँच पुगेको बताएका छन् । पोखरा महानगरपालिकाद्वारा आज पोखरामा आयोजित न्यायिक समितिको सम्मेलनमा उनले जनताको नजिक रहेर स्थानीय सरकारको न्यायिक उपस्थिति जनाउने र न्याय निरुपण तथा मेलमिलाप गराउने उद्देश्यका साथ स्थापित समितिका माध्यमबाट मुद्दा मामिला गर्न नसक्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको न्यायमा पहुँच बढेको बताए ।

नेपालमा सङ्घीय शासनको सुरुवातसँगै स्थानीय तहमा न्यायपालिकाको स्वरुपमा स्थानीय न्यायिक समिति गठन र क्रियाशील भएको बताउँदै उनले मुलुक सङ्घीय संरचनामा गएपछि सिंहदरबारमा मात्र सीमित भएको अधिकारलाई गाउँगाउँसम्म पु¥याउन स्थानीय निकायले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले न्यायिक समितिमा रहने व्यक्तिको निष्पक्ष निर्णयले नै न्यायिक निर्णयमा जीत जीतको अवस्था सुनिश्चित भई न्यायप्रतिको सन्तुष्टि अभिवृद्धि हुने र यस प्रतिको आम नागरिकको भरोसा अझै बढ्दै जाने विश्वास व्यक्त गरे ।

आम जनतामा सुरु चरणको र कम झमेलामा न्याय दिलाउने कुरा रहेको र जनस्तरसम्म जानकारी पु¥याएर आफ्ना समस्यालाई समितिमा ल्याउने वातावरणसमेत तयार गर्नुपर्ने दायित्व समितिमा रहेको बताउँदै उनले बिना पूर्वाग्रह निष्पक्ष निर्णय गर्ने दिशामा सधैंँ दत्तचित्त भएर लाग्ने विश्वास व्यक्त गरे । सीमित साधन र स्रोतका बाबजुत न्यायिक समितिमार्फत हुने न्यायिक निर्णयका धेरै सकारात्मक पक्ष भए पनि त्यसमा रहने व्यक्तिमा न्याय प्रणालीबारे विषयगत जानकारीको अभावले गर्दा समस्या उत्पन्न हुने गरेको गुनासोसमेत आउने गरेको उनले बताए ।

“विषयगत जानकारी नभएका व्यक्तिबाट न्याय सम्पादन हुँदा एकातर्फ निष्पक्ष न्याय सम्पादन नहुने खतरा हुन्छ भने अर्कातर्फ गलत निर्णय हुँदा जनतामा यसप्रतिको भरोसासमेत कम हुन जान्छ”, उनले भने , “समितिका विषयमा उठेका गुनासोलाई आत्मसाथ गर्दै समितिका सदस्यलाई विषयगत रुपमा सक्षम र सबल बनाउन आवश्यक तालिम दिन जरुरी देखिन्छ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्