सोमबार नेप्से परिसूचक ३०.४३ अंकले गिरावट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको दोस्रो दिनको सोमबार कारोबारमा पनि नेप्सेपरिसूचकमा गिरावट आएको छ । आइतबार ४१.४३ अंकले घटेको नेप्सेपरिसूचक सोमाबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख ५८ हजार कित्ता शेयर २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत भारी गिरावट आएको छ । आइतबार करिब ५ अर्बको शेयर खरिदबिक्री भएको थियो ।  सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ । जसमध्ये वित्त, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूको परिसूचक ० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

सोमबार नेप्सेपरिसूचकमा गिरावट आए पनि दुई वटा कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै आज देखि दोस्रो बजारमा कारोबार शुरु भएको नेष्डो समृद्ध लघुवित्तको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा २२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । अपि पावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्