कञ्चनपुरको महेन्द्रनगरमा मझगाउँ विमानस्थलको निर्माण कार्य सुरु, ४५ करोड ६६ लाख भन्दा बढि लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु भएको छ  विमानस्थल निर्माणको लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजना सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिए ।

उनले विमानस्थल निर्माण कार्य सुरु भएको दुई हप्ता भएको बताए । श्रेष्ठले विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार काम सुरु भएको जानकारी दिए । विमानस्थलको निर्माणको लागि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उनले उल्लेख गरे । त्यस्तै, मझगाउँ विमानस्थल पुर्नसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदुरपश्चिममा पर्ने कञ्चनपुर जिल्लाको पर्यटक विकासको ढोका खोल्ने बताए । उनले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्ला मध्ये सबैभन्दा बढी पर्यटकिय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको बताए ।

त्यस्तै, भीमदत्त नगरपालिका वडा न.१६ का वडाध्यक्ष सुरेन्द्र विष्टले विमानस्थल निर्माणको लागि यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिहरुले चनावी घोषणा पत्रमा नै राखेकाले सबैको सहमतिमा निर्माण कार्य सुरु भएको बताए । उनले विमानस्थल निर्माण भएर पर्यटकिय विकास तथा यहाँका जनताले रोजगारी पाउने बताए । विष्टले विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालन पछि काठमाडौंको पहिलो उडानमा जेष्ठ नागरिकलाई निशुल्क पशुपति घुमाउन लाने योजना रहेको सुनाए ।  अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निमार्ण गरिने छ ।

विमानस्थल निर्माण कार्य सुरु भएसँगै स्थानियवासीहरु विमानस्थल सञ्चालन हुने आशाले हर्षित भएका छन् । महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट यहाँका स्थानिय नागरिकले राजधानी काठमाडौं जान कैलाली स्थित धनगढी विमानस्थल जानु पर्ने बाध्यता रहेको छ । विमानस्थल निर्माणको लागि तीन तहका सरकारको लगानीमा निमार्ण हुन लागेको छ । जसमा ५० प्रतिशत नागरिक उड्यन प्राधिकरण, २५ प्रतिशत सूदूरपश्च्मि प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ । विमानस्थल सञ्चालनका लागि पुर्ननिमार्णमा लगानी सहकार्य गरेका स्थानिय तहले सञ्चालन गर्नमा पनि सहकार्य गर्ने बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्