मनाङमा स्थानीय तह निर्वाचनको तयारी तीव्र, २ सय कर्मचारी खटाइने

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि जिल्लामा २०० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय दलको मान्यता नपाएका अन्य दल दर्तादेखि स्थानीय तहसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायत आवश्यक काम तीव्र गतिमा भइरहेको कार्यालयका निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । आयोगले नासों गाउँपालिकाका लागि जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडू, नार्पाभूमि गाउँपालिकाका लागि सरकारी वकिल कार्यालयका दिनेशकुमार रेग्मी र ङिस्याङ गाउँपालिकाका लागि सरकारी वकिल कार्यालयका केदारनाथ उपाध्यायलाई निर्वाचन अधिकृत तोकेको छ । दलहरुले चुनावी तयारी गरिरहँदा निर्वाचन कार्यालयले पनि आफ्ना काम अघि बढाएको छ । मुख्य निर्वाचन अधिकृत तोकिएसँगै निर्वाचनका लागि स्थानीय तहमा कार्यालय स्थापनादेखिका निर्वाचनका लागि आवश्यक तयारी भइरहेको उनले बताए ।

निर्वाचन अधिकृतका लागि स्थानीय तहमा कार्यालय स्थापना गर्ने, फर्निचर, सिसी क्यामरा र इन्टरनेटजस्ता आवश्यक सुविधा मिलाउने कार्य भइरहेको छ । मतदान र मतगणनाको जानकारी आयोगमा श्रव्य र दृश्य दुवै माध्यमबा सम्प्रेषण गर्नुपर्ने भएकाले स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यहरु भइरहेको निर्वाचन अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि जिल्लामा छ वटा मान्यता प्राप्त दलबाहेक थप पाँचवटा दल दर्ता भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा समाजवादी पार्टी, सामाजिक एकता पार्टी र उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएका हुन ।

जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रुपमा सक्रिय छन् । तीमध्येका अधिकांश दलले चुनावी अभियान थालिसकेका छन् । मुख्य दलहरु चुनावी अभियान लिएर गाउँका टोल–टोलमा पुग्न थालेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा कूल छ हजार ४९६ मतदाता छन् । ती मतदातामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मनाङ देशभरको सबैभन्दा कम मतदाता रहेको जिल्ला हो । विकट र थोरै जनसङ्ख्या रहेकाले जिल्लामा माग भएको म्यादी प्रहरीभन्दा आधा कमको आवेदन परेको छ । निर्वाचनका निम्ति २५८ म्यादी प्रहरीको माग गरिएकामा तोकिएको समयसम्म १४८को मात्र आवेदन परेकाले माग पूर्ति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निर्वाचनका लागि विगतमा जस्तै छिमेकी जिल्लाबाट पनि सुरक्षाकर्मी सोधभर्ना गरी सुरक्षा दिइने गरिने जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्