बागलुङमा सुस्ताएको आन्तरिक पर्यटकको चाप बढ्यो, आर्थिक सबलीकरणमा उल्लेख्य सुधार

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन् । मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दसैँमा कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ । चार दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि बागलुङ कालिका दर्शनका लागि एक दिन बागलुङलाई छुट्याएर आएको चितवन भरतपुरका पर्यटक सुन्दरकुमार बरालले सुनाए । उनले सामाजिक सञ्जालमा देखेको लामो पुल, पञ्चकोट लगायतका स्थानले अफूलाई बागलुङ आउने प्रेरित गरेको बताए ।

अहिले जिल्लामा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । भरतुपर महानगरपालिका–२ क्षेत्रपुर चितवनको मितेरी आमा समूह, चितवनकै बिस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र धादिङ जिल्लाको श्री विशाल आमा बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाहरू बस लिएरै बागलुङ बागलुङ भ्रमणमा आएका छन् । यस्ता सामाजिक तथा सङ्घसंस्थाहरू दैनिक सयौँको सङ्ख्यामा बागलुङ आउन थालेका छन् । अहिले कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोकेका सवारीसाधनहरूको चाप थेगिनसक्नु छ । चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको पर्यटन व्यवसायी बताउँछन् ।

बागलुङको धार्मिक पर्यटकीय क्षेत्रमा अहिले पर्यटकको घुईचोनै लाग्ने गरेको पाइएको छ । बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र लामो झोलुङ्गे पुलमा पर्यटकको चाप बढेको पाइएको छ । चैते दसैँ सुरु भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकहरू समेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बागलुङलाई मानेर यहाँ आउने गरेको पाइएको छ । कोरोनाले दुई वर्षदेखि रोकिएको ऐतिहासिक चैत्राष्टमी मेलाको तयारीसमेत गरिएको छ । बागलुङको चैत्राष्टमी मेला नेपालमै प्रसिद्ध मेलामध्येको एक हो । चैत २४ देखि २८ गतेसम्म चैत्राष्टमी मेलाको आयोजना गरिएको र अहिले यसको तयारीले तीव्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

यही चैत दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटलहरू भरिभराउ भएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तथा बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिए । “पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटकहरू बागलुङ कालिका र पञ्चकोटमा समेत आएको पाइयो, पञ्चकोट र कालिका मन्दिर दर्शनले गर्दा दर्शनार्थीको भ्रमण समय लम्बिएको छ,” चोखालले भने , “बागलुङका ठूला होटलहरू पर्यटकले भरिभराउ भएका छन् यो बागलुङको पर्यटन व्यवसायीहरूका लागि सुखद कुरा हो, बागलुङमा थप ठूला तारे होटलहरूको समेत आवश्यकता खड्किएको छ ।” चोखालका अनुसार बागलुङ आउने भारतीय र नेपाली पर्यटक मध्य अधिकांश धार्मिक पर्यटक आएको बताए ।

पर्यटकीय क्षेत्रका रूपमा एकदमै अगाडि बढेको बागलुङमा बिस्तारै पर्यटकीय गतिविधि बढ्दै गएकाले यहाँका नागरिकहरूको आर्थिक सबलीकरणमा समेत उल्लेख्य सुधार हुन थालेको छ । धार्मिक पर्यटकहरू मात्र नभएर अध्ययन अवलोकन भ्रमणको समेत गन्तव्य बन्दै आएको छ बागलुङ । अहिले विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवद्र्धनका कारण जिल्लामा पर्यटकहरू बढ्दै गएको पाइएको छ । अहिले होटलमा पाहुनाको व्यवस्थापन गर्न हम्मे हम्मे पर्दै आएको बागलुङका सफल पर्यटन व्यवसायी एन्जिल शाक्यले बताए । उनले पाहुनाको मागअनुसार आफूले होटलको सुविधा थप्दै आएको बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्