ज्येष्ठ नागरिकलाई आश्रयस्थल निर्माण गर्न धार्मिक महोत्सव सुरु

Ad
  • कालोपाटी सम्बाददाता

नेपालगञ्ज। असहाय तथा ज्येष्ठ नागरिकलाई आश्रयस्थल निर्माण गर्न नेपालगञ्जमा निलसागर बाँके धार्मिक महोत्सव सुरुआत गरिएको छ । संस्थाको निर्मार्णाधीन भवनलाई पूरा गर्न बजेट अभाव भएकाले धार्मिक महोत्सव गरिएको आयोजकले जनाएका छन ।

निल सागर सेवा आश्रमका उपाध्यक्ष अमन सुवेदीले आश्रममा असहायको सङ्ख्या बढ्दै जाने र आर्थिक स्रोत नहुँदा धान्न नसक्ने अवस्था आएपछि आश्रमले महायज्ञ गरेर आर्थिक स्रोत जुटाउन महोत्सव गर्न लागेको बताए ।उपाध्यक्ष सुवेदीले पवित्र कार्यको महायज्ञ लगाएकाले त्यसले सार्थकता पाउने विश्वास व्यक्त गरे । महायज्ञ दैनिक बिहान ६ देखि १० बजेसम्म, बेलुका ६ देखि राति १२ बजेसम्म सञ्चालन हुनेछ । नेपालगञ्जमा गर्मी हुने भएकाले दिउँसो महायज्ञका कार्यक्रम नराखेको आयोजकले जानकारी दिएका छन् । उनले धार्मिक कार्यमा सहभागी भएर लाभ उठाउन र असहाय तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्न अनुरोध गरे । आश्रमले महायज्ञको प्रचारका क्रममा जङ्गलमा एक मनोसामाजिक समस्या भएका करिब ४० वर्षीय व्यक्तिलाई भेटेपछि उद्धार गरेर आश्रम ल्याएको छ । महायज्ञको पहिलो दिन नरैनापुर गाउँपालिकाले रु पाँच लाख सहयोगको घोषणा गरेको छ ।

वैशाख ४ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा पण्डित नाराण न्यौपानेसहित तीन जनाले प्रवचन दिनेछन । महोत्सवमा नगदभन्दा पनि भौतिक सामग्रीलाई जोड दिइएको उपाध्यक्ष सुवेदीले जानकारी दिए । बाँकेस्थित आश्रममा कूल १७२ जना भएकोमा अभिभावकविहीन बालबालिका ४५ र अन्य छ जना रहेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्