ताजपुरिया समाज कल्याण परिषद्मा नयाँ नेतृत्व

Ad
  • कालोपाटी सम्बाददाता

दमक । ताजपुरिया समाज कल्याण परिषद्को पाँचौँ महाधिवेशनले पूर्णलाल ताजपुरियाको अध्यक्षतामा १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । गौरादह–५ मैदानघोपास्थित नमूना पाहुनाघरमा सोमबार सम्पन्न महाधिवेशनले सस्थाको उपाध्यक्षमा नन्दलाल ताजपुरिया, महिला उपाध्यक्षमा कल्याणी ताजपुरिया, महासचिवमा हर्देव ताजपुरिया, उपमहासचिवमा मंगलसिंह ताजपुरिया र कोषाध्यक्षमा शैलेन्द्रकुमार ताजपुरियालाई चयन गरेको छ । यसैगरी सदस्यमा गौरसिंह ताजपुरिया, रेणु ताजपुरिया, रमा ताजपुरिया, कालेन्द्र ताजपुरिया, मनकुमार ताजपुरिया, कुन्दन ताजपुरिया र दिलीप ताजपुरियालगायत चयन भएका छन् ।

परिषद् पूर्वका आदिवासी ताजपुरिया समुदायको सामाजिक संस्था हो । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यमा भएको महाधिवेशनमा झापा, मोरङ र भारतको बिहार तथा पश्चिम बङ्गालबाट सहभागिता जनाएका थिए । त्यस अवसरमा परिषद्ले समाजका युवा प्रतिष्ठित व्यक्ति, जग्गादाता र संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो ।

नेपथ्य कन्सर्टको तयारी

देशकै चर्चित ‘व्याण्ड’ नेपथ्यले कोरोना महामारीपछि पहिलोपल्ट दमकमा आगामी वैशाख १ गते साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसर पारेर दमकको धु्रवतारा दमकमा नेपथ्यले कार्यक्रम आयोजना गर्न लागेको र त्यसको तयारी अन्तिम चरणमा पुगेको नेपथ्य व्यवस्थापन गरिरहेको नेपालयले जनाएको छ । स्थानीय सरस्वती माध्यमिक विद्यालय परिसरमा हुने सो कार्यक्रम नेपथ्यको दमकमा पाँचौँ प्रस्तुति हो । दमकमा यो कार्यक्रम नेपाली टच अष्ट्रिलया र दमकको पुरानो खेलकुद संस्था धु्रवतारा स्पोर्टिङ क्लबले संयुक्तरूपमा आयोजना गर्न लागेको हो । धु्रवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको ३० वर्ष मनाउने अवसरका रूपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो ।

आयोजक संस्थामध्ये नेपाली टच अष्ट्रिलयाका कार्यकारी प्रमुख राज गोश्वामीका अनुसार कार्यक्रमका लागि टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, विराटनगर, गौरादह र दुधेमा समेत बिक्री केन्द्र राखिएका छन् । स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने रु एक हजार राखिएको छ । “सङ्गीतप्रेमी दर्शकका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेका छौँ”, व्याण्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने थप जमर्को पनि हुनेछ ।”

महामारी अगाडि नेपथ्यको प्रस्तुति काठमाडौँको भृकुटीमण्डपमा भएको थियो । विसं २०७६ फागुन १७ गतेको त्यो पछिल्लो ‘कन्सर्ट’ एउटा गाउँले विद्यालयको पुनःनिर्माणका लागि आयोजना गरिएको थियो । यो नै महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो । यसपटकको नेपथ्य कार्यक्रम दुई वर्षपछिको अन्तरालमा हुँदैछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्