हरसिद्धि जात्रा सुरु

Ad
  • कालोपाटी सम्बाददाता

बनेपा । ललितपुरको हरसिद्धी गाउँबाट देवगणसहितले सोमबार ल्याएको त्रिशक्ति देवीलाई पनौती बजारस्थित हरसिद्धि पाटीमा राखेर पूजाआजा तथा बलि चढाएर बजार परिक्रमा गराइएको छ । सो क्रममा त्रिवेणीघाटमा रहेको बासुकी नागमा जल चढाएर थुमा भेडाको बलि चढाइ पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पुर्याएको जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ । मेलाका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यका अनुसार आज बिहानैदेखि नाचगान सुरु भएको छ भने दिनभरिमा पञ्चबलि थुमा, बोका, राँगो, हाँस र माछाको बलि दिइन्छ ।

बुधबार जात्रा समापन गरी आगामी वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात देवगणहरू फर्किने कार्यक्रम रहेको जात्रा व्यवस्थापन समितिले जनाएको छ । साठी वर्षदेखि पनौतीमा पनि मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तररूपमा मनाउन नसकेको अवस्थामा सोमबारबाट पुनः जात्रा सुरु भएको समितिले जनाएको छ । यसअघि विसं २०६६ मा जनसहभागिताबाट रकम सङ्कलन गरेर जात्रा सञ्चालन गरेकामा त्यसको ठीक १२ वर्षपछि सोमबारबाट जात्रा सुरु भएको समितिका संयोजक सुरेश सैँजूले जानकारी दिए । स्वच्छ मनले एउटा मात्रै चिज मागेर त्रिशक्ति देवीको पूजा गरेमा त्यो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

करिब दुई हजार वर्ष पहिले प्रारम्भ भएको मानिने हरसिद्धि नाच राजा विक्रमदित्यद्धारा सुरु गरिएको बताइएको छ । पनौती नगरपालिकाले १२ वर्षको एकपटक लाग्ने हरसिद्धि जात्रा मनाउनका लागि सार्वजनिक आज बिदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वको पनौती बजारमा हुने जात्राका अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो । नगरपालिकाको यही चैत २५ गते बसेको बैठकले आज नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले जानकारी दिनुभएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्