वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने

Ad
  • कालोपाटी सम्बाददाता

इलाम । नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम युनाइटेड क्लब फिक्कलको आयोजनामा नयाँ वर्षका अवसरमा सडक महोत्सवको आयोजना गरिएको हो । सडक महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । सूर्योदय नगपालिका प्रदेश नं १ सरकारले पर्यटकीय नगरीका रुपमा घोषणा गरेको छ ।

सडक महोत्सवमा स्थानीय खानाका परिकारसहित ३५ वटा स्टल रहनेछन् । महोत्सवमा विभिन्न ब्यान्डसहितका कलाकारको प्रस्तुति रहने आयोजक सूर्योदय होटल व्यवसायी सङ्घका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ । एक लाख ५० हजार पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सव सञ्चालन गर्न रु ३७ लाख खर्च हुने अनुमान गरिएको छ । गोर्खा ब्रुअरी टुबोर्ग को मुख्य प्रायोजन, सूर्योदय नगरपालिका र वडा नं १० को सहयोगमा सञ्चालन हुने महोत्सवमा स्थानीय कोसेलीसहितका स्टल रहनेछन् । सूर्योदय होटल व्यवसायी सङ्घका सचिव युवराज प्रधानले उक्त महोत्सवले सूर्योदयको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विगतका दुई वर्ष कोरोना महामारीका कारण सञ्चालन हुन नसकेको बताउँदै यस वर्ष महोत्सव हुने हुँदा धेरैमा उत्साह थपिएको छ । सडक महोत्सवले पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने आशा लिइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्