‘निर्वाचन सम्पन्न गर्न कमी रहँदैन’ : तुलाधर

Ad
  • कालोपाटी सम्बाददाता

राँझा । निर्वाचन आयोगका आयुक्त जानकीकुमारी तुलाधरले स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न श्रोत साधनको कमी नरहने बताए । नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुभव र कार्यशैलीले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका बताए ।

उनले भने “निर्वाचनमा खटिएका सबै कर्मचारीको बुझाइ साझा र एकरुपता हुनुपर्छ । स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि कुनै पनि कुराको कमी नराखीकन गर्ने दायित्व र जिम्मेवारी रहेको छ”, उनले भने, “निर्वाचनको व्यवस्थापनको कुरा गर्दा निर्वाचनको दिनमात्रै नभएर निर्वाचनको समग्र मतदान केन्द्र, मतदानस्थल, मतगणना, जनशक्ति व्यवस्थापनलगायतका आममतदाताले सहजरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने जिम्मेवारी र दायित्व पनि छ ।”

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैसँग समन्वय र सहकार्य गर्दै सबैले आ–आफ्नो जिम्मेवारी र दायित्वमा एकरुपता लिन कार्यक्रमले सहयोग पुर्याउने आयोगको अपेक्षा रहेको उनको भनाइ छ । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली जिल्लाको १० जिल्ला र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्ला गरी १३ वटा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, १३ वटै जिल्लाका जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको जानकारी दिए ।

उनले निर्वाचन सम्पन्न गर्न धेरै कुराको विचार गर्नुपर्ने अवस्था आउने भएकाले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्ने बताए । “आफूले मात्रै राम्रो गरेर हुँदैन अरुले पनि राम्रो गरिदिनुपर्छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्दछ”, उनले भने, “मतदान केन्द्रमा खटिएको एउटा कर्मचारीलाई गर्ने काम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँग पनि जोडिएर आउने भएकाले सबैलाई उत्तिकै जिम्मेवार र जागरुक बनाउनु जरुरी हुन्छ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्