बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी

Ad
  • कालोपाटी सम्बाददाता

तनहु। बन्दीपुर गाउँपालिकाले ससाना गह्राहरु मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म एक हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ ।

बन्दीपुर गाउँपालिका–१ र ३ वडामा जमिन चक्लाबन्दी गरिएको हो । वडा नं ३ मा एक हजार रोपनी र वडा नं १ मा ६ सय रोपनीमा चक्लाबन्दी गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उक्त कार्यलाई निरन्तरता दिइने उनले बताए । “कृषि क्षेत्रमा आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गर्ने लक्ष्य छ”,उनले भने ।

स–साना गह्रा र बारीमा गोरुले जोत्न गाह्रो हुने र गोरु पाल्ने चलन पनि बिस्तारै हराउँदै जान थालेपछि जग्गा चक्लाबन्दीलाई प्राथमिकतामा राखिएको हो । जग्गा चक्लाबन्दी गरिएको क्षेत्रमा जोत्न र खेती लगाउन सजिलो होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । किसानलाई ट्र्याक्टर, कुटानी–पिसानी मिललगायत ५२ थान कृषि औजार प्रदान गरिएको अध्यक्ष थापाले बताए ।उनले भने , “गाउँपालिकाले रु १४ लाख मूल्य बराबरको किसानलाई कृषि औजार प्रदान गरेको छ ।”

जमिन चक्लाबन्दी गरेपछि त्यस क्षेत्रका किसान उत्साहित भएर खेती गर्न थालेका छन् । साना खेतबारीलाई डोजर लगाएर ठूला गह्रा बनाएपछि खेती लगाउन सजिलो हुनाका साथै आधुनिक कृषि औजार प्रयोग गरिँदा थोरै जनशक्तिले पनि धेरै काम गर्न सकिनेछ । चक्लाबन्दीमार्फत कृषि उत्पादनमा वृद्धि गरी खाद्यान्न बालीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्