सडकमा भौँतारिने महिलाको कथा !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एक दशक पहिलेसम्म सडकमा बस्ने, मदिरा र लागुऔषध दैनिक खाने, बटुवासँग मागेर वा लुटेर हातमुख जोड्ने एक महिला अहिले सडकमा बस्ने त्यस्तै बालबालिकालाई त्यसबाट बाहिर निस्कन सल्लाह दिन्छिन् । आफू जस्तै खराब बानी छाडेर सामाजिक जीवन बिताउन उनले सडकका बालबालिकालाई प्रेरित गर्दै आएकी छन् । सडक बालबालिकाका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथ’मा आबद्ध भएर उनी सडक बालबालिकाका संरक्षण र उद्धारका काममा लागेकी छन् । दिउँसो संस्थामा र बिहान बेलुका अरू विभिन्न काम गरेर २६ वर्षीया उनले आफूसँगै दुई सन्तान र तीन भाइबहिनीलाई पाल्दै आइरहेकी छन् । पारिवारिक अवस्थाका कारणले आफू सडकमा आउनु परे पनि सन्तानलाई सडकमा आउन नदिने अठोट उनले गरेकी छन् । उनले भनिन्, “जसोतसो छोराछोरीलाई बोर्डिङमा पढाइरहेको छु ।”

बिहेपछि पनि उनी पहिले सडकमा हुन्थिन् । सन्तान जन्माएपछि उनी ‘साथसाथ’का सम्पर्कमा गइन् । उनलाई त्यहाँ आफू खराब बाटामा भएको महसुस भई सन्तानलाई त्यसमा हिँडाउन हुँदैन भन्ने लाग्यो । बिहेपछि पनि केही समयसम्म उनी मदिरा र लागुपदार्थ खान्थिन् । सन्तान भएपछि भने त्यो पैसाले सन्तानलाई खानेकुरा किन्छु भनेर मन बाँधिन् । त्यसपछि उनलाई छोराछोरी सम्झेर लागुऔषध र मदिरा केही खान मन लागेन । उनले भनिन्, “बच्चा पढाउनुपर्छ, तीन जना भाइबहिनीहरू सँगै छन्, उनीहरूलाई पनि पाल्नुपर्छ ।” उनी सानो हुँदा पहिले हजुरबा–हजुरआमासँग, त्यसपछि आमाबाबा र अहिले श्रीमानसँग बस्छिन् । बाजेबज्यै नारायणथानमा मागेर जीविकोपार्जन गर्थे । उनीहरू बितेपछि आमासँग सडकमा बस्न गएको उनले बताइन् । अर्को विवाह गरेकी उनकी आमा त्यतिबेला श्रीमान्सँग सडकमै बस्थीन ।

आमाले दोस्रो विवाहपछि बर्सेनि सन्तान जन्माए । उनीलगायत सबै भाइबहिनीको रेखदेखका लागि आमाले केही गर्न नसकेको उनले बताइन् । उनले भनिन्, “आफ्नै पेट कसरी पाल्ने भन्ने भएर होला, आमाले हामीलाई ध्यानै दिन सक्नुभएन ।” परिवारको बेवास्ताले गर्दा नै उनी सानैदेखि सडकमा मन लागेको ठाउँमा बस्ने र खाने गर्न थालिन्, बिहानैदेखि चुरोट, गाँजा खान पशुपतिनाथलगायत विभिन्न मन्दिरमा गएर भेटी टिप्न थालिन् । अलि ठूली भएपछि छ–सात केटी मिलेर रक्सीले मातेका पुरुषलाई लुटेर पैसा कमाउने गरेको उनले बताइन् । सडकमा अरूले जे गर्यो त्यही सिक्न थालिन् । त्यो समूहकी ठूली केटीले राम्री बनेर केटा फसाएपछि सबै मिलेर लुट्न थाले । उनले भनिन्, “एक जना दिदीले पैसा भएको जस्तो लाग्ने केटालाई जाने हो भन्दै पछि लगाउँथिन्, हामी सबै मिलेर धुत्ने गथ्यौँ। पुलिस समाउन आए हामीलाई उसले नराम्रो गरेको भनेर त्यही केटालाई फसाउँथ्यौँ ।”

सडकमा हुँदा खान, लाउन र बस्न समस्या पर्ने गरेको उनले बताइन् । ठूलो पानी पर्दा पसलको ओत लागेर बोरा ओढी सुतिन् । पेटीमा सुत्ने गरे पनि खाना नपाएर कयौँ दिन भोकै सुत्नुपरेको उनको भनाइ छ । अति भोक लागेपछि उनले पसल बाहिर फालिएको स्याउ र सुन्तला खाइन् । कयौँ रात भोकै भएपछि उनी साथीसँग मिलेर खाजाघरमा काम थालिन् । उनले भनिन्, “त्यहाँ हुँदा खाना खान र बास बस्न पाइने थियो, पछि बच्चालाई काम गराए पुलिसले समात्छ भनियो र छाड्नुपर्यो ।” सडकमा हुँदा पटकपटक संस्थाका प्रतिनिधि पनि सडक बालबालिकाको अवस्था बुझ्न जाने गरेका थिए । उनी पनि उनीहरूका सम्पर्कमा गइन् । एउटा संस्थाले पहिले संरक्षणका लागि लगेको थियो । आमा भोलिपल्ट लिन गएकाले आफू पुनः सडकमा आइपुगेको उनले बताइन् । उनलाई अर्धचेतावस्थामा हुँदा आफू बिग्रिएँ भन्ने भयो र भाइबहिनी खराब बाटामा नलागे हुने भन्ने लाग्यो ।

आफू सडकमा रहँदा एक दिन आफूले नशालु पदार्थ खाइरहेको बहिनीले देखेपछि कताकता मनमा उनको चिन्ता लागेको उनले बताइन् । उनले भनिन्, “त्यसपछि बहिनीलाई तानेर संस्थामा पु¥याएँ र त्यहीँबाट उसले स्कुल पूरै पढी ।” सडकमा हुँदा कसले के भन्छ भन्ने वास्ता नभए पनि उमेर बढ्दै जाँदा आफूलाई धेरै कुराबाट असुरक्षित भएको महसुस उनले गरिन् । सडकमा हिँडेको मान्छे भएपछि सबैले नराम्रो दृष्टिले हेरेको महसुस उनलाई भयो । विवाहपछि सुरक्षित हुने आशामा उनले १७ वर्षमा बिहे गरिन् । “उमेर पुगेपछि राम्री पनि देखिएँ क्यारे, जसले पनि दुव्र्यवहार गर्थे, कहिले हिँड्ने मान्छे त कहिले पुलिसले केके भन्ने हुँदा कताकता डर लाग्थ्यो ।” सडकमा नै रहँदा उनको आफूजस्तै केटासँग भेट भयो । माया बस्यो र विवाह भयो । उनले भनिन्, “मलाई जताबाट पनि सडकबाट बाहिर जाने अवस्था नै आएन ।”

त्यतिबेलासम्म उनलाई आफू केही दुःख गरेर भए पनि कमाएर एउटा कोठा लिएर बस्न सक्छु भन्ने थाहा थिएन । अहिले एक छोरा र एक छोरी छन् । उनले भनिन्, “जसोतसो जीवन चलेको छ ।” सडक छाडेपछि काम गरेर जसोतसो जीवन धान्न गाह्रो नहुने उनलाई लागेको छ । खानबस्न जसोतसो गरे पनि नागरिकता प्रमाणपत्र नहुँदा भने समस्या भएको छ । कमाएको पैसा बचत गर्न पाएकी छैन भने छोराछोरीको जन्मदर्ता हुन सकेको छैन । उनले भनिन्, “नागरिकताका लागि पनि लागिरहेको छु, कुनै दिन बन्ला कि ।” सानैदेखि सडकमा बस्दै आएका अर्का एक युवक अहिले पाइप बनाउने काम (प्लम्बर) गर्छन् । सो कामका लागि उनी काठमाडौँ उपत्यका बाहिर पनि पुग्ने गरेका छन् । आफूले कमाएको पैसाबाट खानबस्न मात्रै होइन केही बचत पनि गर्न सकेको उनले बताए । अहिले उनी महिनामा झण्डै रु १५ हजार कमाउँछन् । सडकमा भन्दा काम गरेर बाँचेको जीवन सजिलो र सम्मानजनक रहेको उनको भनाइ छ ।

पहिले सडकमा धेरै डर थियो । पैसा साथमा भए आफ्नै साथीभाइले लुट्थे । अरूले सामान चोर्दा आफूलाई चोर भनेर प्रहरीले कुट्थे । उनले भने, “आफैँले काम गरेर खाँदा अहिले त कसैको डर छैन ।” सडकको जीवन छाडेर सामाजिक जीवन बिताउँदा उनलाई पनि नागरिकताको भने अझै समस्या छ । बुबाआमा दुवै बितेपछि उनले अरू कुनै आफन्त भेटेका छैनन् । संस्थाबाट बिरामी पर्दा सहयोग पाएको उनले बताए । उनले भने, “अब नागरिकता बनाउन पाए सबै सजिलो हुने थियो ।” आफूलाई थाहा नहुँदै बुबा बितेपछि उनी आमासँग पाटनढोकामा बस्ने गर्थे । आमाले कहिले तरकारी बेचेर त कहिले ज्यामी काम गरेर उनलाई पाल्नुभएको थियो । रोगी आमा एक्लो सन्तान उनी १० वर्षको हुँदा बित्नुभयो र साथीसँग बिग्रिएर हिँड्न थाले ।

पहिले ललितपुरमा बसेका उनी आमाको मृत्युपछि साथीको लहैलहैमा काठमाडौँमा बस्न थाले । सडकमा रहँदा पटकपटक संस्थामा जाने र फेरि भाग्ने गरेको उनले बताए । संस्थामा बसेपछि सडकको बानी छुट्न सकेको थिएन । बाह्र वर्ष पहिले उनी साथीसँग ‘साथसाथ’ गए । त्यहाँ शुक्रबार खेल खेलाइन्थ्यो । खेलपछि पेटभरी खान पाइने भए पनि संस्थामा नै बस्न नसकेको उनले बताए । उनले भने, “सडकमा मन लागेको खाने र मन लागेजसरी बस्ने मान्छेलाई नियममा बस्न गाह्रो हुने रहेछ ।” चार वर्ष पहिले सरकारले कुनै पनि बालबालिकालाई सडकमा बस्न नदिएपछि उनी अरू साथीसँगै संस्थामा गए । उनले संस्थामा नै रहेर छ महिना पाइप बनाउने तालिम सिक्न थाले र सोलार कम्पनीमा काम गर्न लागे । उनले भने, “चार महिना काम गरेपछि पैसा भएन र फेरि सडकमा हिडेँ ।”

उनले त्यसको केही महिनामा गोकर्णमा साङ्ग्रिला होस्टलमा बसेर पाइप बनाउने थप सीप सिके । त्यहाँबाट सडक बालबालिकालाई कसैलाई कुक, प्लम्बर, वर्कसपलगायत काम सिकाइएको थियो । उनले भने, “त्यतिबेला सिकेको काम अझै गरिरहेको छु ।” अर्का एक युवक पनि आफू सडकमा एक्लै हिडिँरहेका दिन सम्झन्छन् । । आमाबाबा को हो र किन आफू सडकमा आइपुगेँ भन्ने उनले अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन् । उनलाई चिन्नेहरूसमेत उनलाई अहिले देख्दा खुसी हुन्छन्, किनकि जुत्ता र लुगासमेत नभएको त्यही बालक अहिले कराते प्रशिक्षक भएको छ । उनी विद्यालय–विद्यालय पुगेर बालबालिकालाई कराते सिकाउने गर्छन् । झण्डै चारपाँच वर्षको हुँदा सडकमा एक्लै हिँडिरहेका अवस्थामा बल्खुमा एक जना व्यक्तिले उनलाई भेटे । होटल सञ्चालक तीनै व्यक्तिले सहयोगीका रूपमा उनलाई राखे । खेलमा सानैदेखि इच्छा भएकाले उनले सिनामङ्गलमा कराते सिक्न थाले ।

होटलमा काम गर्दै कराते सिकेका उनलाई गुरुले पनि सहयोग गरे । सन् २०११ मा ब्ल्याक बेल्ट लिएपछि उनी धेरै खेलमा सहभागी छन् । खेलका लागि उनलाई देशभित्र र बाहिरबाट अवसर आएको छ । नागरिकता नभएकाले उनले आफ्नो क्षमता प्रदर्शन गर्न र बढाउन पाइरहेका छैनन् । उनले भने, “बाहिर खेल्न जान पाएको छैन र लाइसेन्स पनि बनाउन पाएको छैन ।” रगतसँग जोडिएका कोही आफन्तको पत्तो नभए पनि आफूलाई सानैमा पाल्ने व्यक्ति, संस्थाका कर्मचारी र एक जना बनाएकी बहिनी नै उनका आफन्त भएका छन् । आफूलाई पाल्ने व्यक्तिलाई अभिभावक मानेर उनी चाडपर्वमा जाने गर्छन् । संस्थाहरूले पनि उनलाई आवश्यक सहयोग गर्दै आएका छन् । संस्थाका प्रतिनिधिसँग उनी पटकपटक नागरिकता बनाउने कामका लागि जिल्ला प्रशासन कार्यालय धाएका छन् । उनले भने, “नागरिकता पाएपछि पासपोर्ट बनाएर बाहिर खेल्न जाने र गाडीको लाइसेन्स लिने इच्छा छ ।”

‘साथसाथ’ का रिसोर्स एक्जेक्युटिभ कविता शाहले कोभिड–१९ पछिका समयमा सडकमा आउने बालबालिकाको सङ्ख्या अझै बढिरहेको बताए ।अभिभावकले रोजगारी गुमाउँदा बालबालिका सडकमा आउन बाध्य भएको उनको भनाइ छ । विगतमा सडकमा नै सुत्ने भएकाले राति र बिहान यस्ता सडक बालबालिका बढी देखिन्थे । अहिले केही कम भए पनि सडकमा थोत्रा सामान बटुलेर आयआर्जन गर्नेको सङ्ख्या बढिरहेको पाइन्छ । सरकारले सडकमा आएपछि बालबालिकाको उद्धार गर्ने मात्र नभएर त्यहाँ आउनै नदिनका लागि मुहानमै ध्यान दिनुपर्नेमा उनको जोड छ । सडकमा रहेका बालबालिकालाई गैरसरकारी संस्थाले पटकपटक परामर्श गरेर आफूसँग लैजाने गरे पनि सरकारी संयन्त्रले एकै पटक उठाएको उनले बताए । उनले भने, “त्यसले गर्दा बालबालिका सडक छाडेर त जालान् तर फेरि चाँडै फर्कन्छन् ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बाल संरक्षण तथा विकास शाखाका प्रमुख शान्तिराज प्रसाईँले सडक बालबालिकाको सङ्ख्या विगतभन्दा कम भएको बताए । यी बालबालिकाको खोजी गरेर उद्धार गर्ने तथा संरक्षण र परिवारमा पुनःमिलन गराइँदै आएको उनको भनाइ छ । केन्द्रीय बालकल्याण परिषद्ले बालबालिकालाई उद्धार, संरक्षण र पुनःस्थापना गरिरहेको छ । सरकारले गैरसरकारी संस्थासँग मिलेर पनि बालबालिकाको संरक्षण गरिरहेको उनको भनाइ छ । उनले भने, “गैरसरकारी संस्थामा बालबालिका बढी बसिरहेको देखिए पनि सरकारले प्रत्येक बालबालिकालाई आवश्यक रकम छुट्टाएर संस्थालाई दिइरहेको छ ।” सरकारले गत वर्षसम्म एक हजार २३५ बालक र १९८ बालिकाको उद्धार र व्यवस्थापन गरेको थियो ।

तीमध्ये सबैभन्दा बढी ६७३ आदिवासी÷जनजाति, ४०७ ब्राह्मण÷क्षेत्री र २७१ दलित छन् । उद्धार भएका बालबालिकामध्ये ९७५ जनाका बाबुआमा जीवित रहेको र १७२ को दुवैको मृत्यु भइसकेको पाइएको थियो । उद्धार भएकामध्ये अधिकांश बालबालिका काठमाडौँ उपत्यका र आसपासका जिल्लामा बढी पाइएको थियो । नेपालमा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकाको सुनिश्चित भविष्यका लागि राज्यबाट तोकिएबमोजिम विशेष संरक्षण पाउने अधिकार हुने व्यवस्था छ । बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९ मा सडक बालबालिकाको अभिलेख राख्ने, सडकमा आएका बालबालिकाको उद्धार गरी अस्थायी संरक्षण केन्द्रमा राख्ने तथा परिवारमा पुनःमिलन गराउने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्