मनाङबाट ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै ; २१ छात्रा र २२ छात्र

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताए । उनका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मा.वि. थोचेबाट १४, अन्नपूर्ण मा.वि. मनाङबाट चार, भानु मा.वि. तालबाट सात र लोकप्रिय मा.वि. खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन् । जिल्लाको लोकप्रिय मा.वि.मा एउटा परीक्षा केन्द्र रहनेछ ।

जिल्लामा परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए । परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिएको बताइएको छ । शैक्षिकसत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेका थिए । प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइई सञ्चालन गर्न लागिएको हो । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्