खोटाङ जिल्लामा विकास आयोजनाका काममा ढिलासुस्ती, ३३ महिना बित्दा करिब ७५ % मात्र काम सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

खोटाङ । जिल्लामा सञ्चालित दर्जन बढी विकासे आयोजनाका काममा ढिलासुस्ती भएको पाइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम पटकपटक म्याद गुज्रँदासमेत पूरा भएका छैनन् । मेनलाइनको सम्झौता म्याद नाघेको ३३ महिना बित्दा करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा कम्पनीले जिम्मा लिएका छन् । महादेव खिम्ती र दिवा निर्माण सेवा कम्पनीले जेभीमा ठेक्का लिएको दूधकोशीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र सोही नगरपालिकाको वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का लिएका हुन् । दिवा–महादेव खिम्तीले २०७६ पुस १७ गते सम्पन्न गर्नेगरी २०७४ असार २१ गते आयोजनाको मेनलाइनको कामको ठेक्का सम्झौता गरेका थिए ।

सोही आयोजनाको काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनको काम उस्तै निराशाजनक छ । यस्तै दीपेन्द्र शाहीको सिद्धिसाई सम्बद्ध जेभीले ठेक्का लिएको मध्यपहाडी लोकमार्गअन्तर्गत सेखुवा–चखेवा भञ्ज्याङ (१० किलोमिटर)  खण्ड कालोपत्रको काम निराशाजनक छ । तेस्रो पटक थप भएको म्याद सकिँदासमेत कालोपत्र बिछ्याउने तरखर देखिन्न । हालसम्म सेखुवा–चखेवा भञ्ज्याङ खण्डको कालोपत्रको काम करिब ३५ प्रतिशत मात्र भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले जनाएका छन् ।

भारत कन्स्ट्रक्सन\मैनाचुली\सिद्धिसाईले २०७५ फागुन ३० गते सम्पन्न गर्नेगरी, २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रको सम्झौता गरेका थिए । शाहीकै सिद्धिसाई संलग्न महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक खण्डअन्तर्गत महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ । भारत कन्ट्रक्सन\सिद्धिसाई जेभीले २०७७ असार मसान्तभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्र योजनाको सम्झौता गरेका थिए । रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको करिब ४५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले बताएका छन् । महुरे–फोक्सिङटार सडककै सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम पनि अलपत्र अवस्थामा नै छ ।

देवनारायण पवन\मैनाचुली\खाम्पाचे जेभीले ठेक्का लिएको सो खण्डको काम करिब ५० प्रतिशत सकिएको छ । यतिसम्म कि जिल्लामा सञ्चालित कतिपय आयोजनामा जिल्लाकै जनप्रतिनिधि तथा राजनीतिक दलका नेतासमेत संलग्न रहेका छन् । हलेसीमा सञ्चालित खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको उपभोक्ता समिति अध्यक्ष हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई रहेका छन् । दूधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाभित्रका करिब तीन हजार ७५६ घरधुरीलाई वितरण गर्ने लक्ष्य राखिएको छ । निर्माण कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न नगरेपछि उक्त खानेपानी आयोजनाको म्याद नथप्ने निर्णय गरिएको छ । उपभोक्ता समितिले म्याद नथप्न खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागसमक्ष सिफारिस गरेपछि उक्त आयोजना अलपत्र हुने अवस्था देखिएका छन् । जिल्लामा सञ्चालित अन्य विकासे आयोजनाको भने म्याद सकिए पनि सुस्त गतिमा निर्माणको काम भइरहेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्