साझा प्रकाशनले गर्यो विशेष पुस्तक प्रदर्शनी, पाठकले खोजेका पुस्तकहरु हातमा पुर्याउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ । साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर बैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ । प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशन गरेका पुस्तकहरु विशेष छुटका साथमा विक्रि भइरहेको छ । पाठकले खोजेका विभिन्न विधाका पुस्तकहरु पाठकको हातमा पुर्याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताए ।

प्रदर्शनी काठमाडौं उपत्यका भित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक, प्रदर्शनी मार्गमा र प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा रहेको उनले बताए । त्यसैगरी देशभरमा रहेका साझा प्रकाशनको शाखा कार्यालयहरु धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उनले जानकारी दिए । प्रदर्शनीमा सस्तोमा पचास पैसादेखि महङ्गोमा २८ सय रुपैयाँसम्मका पुस्तकहरु पाइने उनले बताए ।

विशेष पुस्तक प्रदर्शनी बैशाख १५ गतेसम्म चल्ने साझा प्रकाशनले जनाएको छ ।  पुस्तक प्रदर्शनीको छैठौँ दिन सम्ममा पुस्तक विक्रिमार्फत् ६ लाख ५० हजार रुपैयाँ संकलन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । प्रदर्शनीमा साझाले प्रकाशन गरेका साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्वका पुस्तकहरु रहेको उनले बताए । प्रदर्शनीमा २०६० सालसम्म प्रकाशित पुस्तकहरुमा ५० प्रतिशत छुट, २०७० सालसम्म प्रकाशित पुस्तकहरुमा ३५ प्रतिशत छुट, ७१ सालसम्म प्रकाशित पुस्तकहरुमा ३० प्रतिशत छुट र गरिमा मासिक पत्रिकालाई ८० प्रतिशत छुटमा विक्रि गरिएको साझा प्रकाशनले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्